भद्रपुरः मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई बुधबार एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ ।
समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक, स्टे«चर नभएका, यात्रु बोकेर हिँडेका एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिएको छ भने एउटामा ‘ह्वील लक’ नै गरेको छ ।
समितिले विर्तामोडको कन्काई हस्पिटल अगाडि कागजातविना नै यात्रु कुरेर बसेको लक्ष्मी रधन्ता स्मृति सेवाद्वारा सञ्चालित मे१च १०५ नम्बरको एम्बुलेन्सको ह्वील हक गरेको छ । त्यस्तै मे १ च १४७८ नंको कालिका पीठ कालिस्थान, मे१च ७०४ नंको लक्ष्मी रधन्ता स्मृति सेवा, मे१च ८५९ भगवती सेवा समाज, मे १ च १६५४ नंको ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालय, मे १ च ३३७ नंको नवदुर्गा सामुदायिक प्रतिष्ठानको र मेची मोडल हस्पिटलको नामबाट सञ्चालित मे १ च २०९९ नंको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको एम्बुलेन्समा हुनुपर्ने साइरन, इमर्जेन्सी बत्ती, अक्सिजन सिलिण्डर, प्राथमिक उपचारसहितका बाकस, स्ट्रेचर, लाइसेन्स, ब्लुबुक, लकबुकलगायत कागजात नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।
एम्बुलेन्स सेवामुखी नभई नाफामुखी हुँदै गएको र बिरामी बोक्ने एम्बुलेन्समा यात्रुसमेत बोक्ने गरेको व्यापक जनगुनासो आएपछि समितिले अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । उनका अनुसार नियन्त्रणमा लिएका सबै एम्बुलेन्स जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा रहेका छन् ।
अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिको टोली थियो । टोलीले जिल्लाका विर्तामोड, कन्काई, शिवसताक्षी, दमक नगरपालिका कमल गाउँपालिका लगायतको क्षेत्रका १६ एम्बुलेन्समा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भेटिएका एम्बुलेन्समध्ये नवदुर्गा सामुदायिक प्रतिष्ठानले बिरामी नभएका यात्रु बोकेर हिँडेको, नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको एम्बुलेन्सले लाइफलाइन अस्पताल पु¥याएको बिरामीसँग तोकिएको भाडा रु एक हजार २०० लिनुपर्नेमा रु एक हजार ५०० भाडा असुलेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले बताए ।
नियन्त्रणमा लिइएका एम्बुलेन्स सञ्चालकलाई तत्काल पत्र काटेर मापदण्डसहितका कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अनुरोध गरिने बताउँदै सहायक प्रजिअ निरौलाले भने, “आवश्यक कागजात लिएर आए छाड्छौँ नत्र एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ ले व्यवस्था गरेको अधिकार प्रयोग गरेर खारेजी गर्न सकिन्छ ।”
झापामा दर्ता भएका १३३ एम्बुलेन्समध्ये ८५ वटा सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत चौलागाईंले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा झापामा जिल्ला स्वास्थ्य कार्यालय सदस्य सचिव, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला ट्राफिक कार्यालय र एम्बुलेन्स सञ्चालकको प्रतिनिधि सदस्य रहने गरी एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समिति गठन गरिएको छ ।