तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य केन्द्रभित्रै औषधी बिक्री गर्न थालेका छन् । स्वास्थ्य केन्द्रभित्रै चर्को मूल्यमा औषधी बिक्री गरी जनता ठग्ने काम भएको स्थानीय सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

सेवाग्राहीहरूको गुनासो आउन थालेपछि आइतबार स्थानीयहरूले स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यचौकीभित्रै औषधी बिक्री नगर्न अनुरोध गरेको स्थानीय महेन्द्र बिमलीले बताए ।

स्वास्थ्य केन्द्रमा आएका बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूबाट चर्को मूल्यमा औषधी बिक्री गरी ठग्ने काम भएको स्थानीय बासु बरालले बताए । विभिन्न बहानामा बिरामीहरूलाई आर्थिक बोझ थप्ने काम स्वास्थ्य केन्द्रले गरेको उनले बताए ।
निःशुल्क उपलब्ध हुने औषधीबाहेक स्थानीय मेडिकलमा नपाइने औषधी बिरामीलाई स्वास्थ्य केन्द्रमै किन्न लगाइएको आठराई गाउँपालिकाका स्वास्थ्य प्रमुख एवम् प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सन्तोष शाहले बताए । ‘इमर्जेन्सी औषधी’ मात्र बिक्री गरिएको उनले बताए ।

स्वास्थ्य केन्द्रमा भएको गतिविधिको बारेमा अहिले समाजिक सञ्जालमा समेत विरोध हुन थालेको छ । स्वास्थ्य केन्द्रमा भएको औषधी बिक्री वितरण र जनगुनासोका विषयमा चाँडै छलफल गरी समस्याको सामधान गरिने आठराई गाउँपालिका वडा नं. १ वडाध्यक्ष कमलबहादुर लिम्बूले बताए ।