इलामःइलामको किवि बेच्न धरानमा किवि एक्स्पो सञ्चालन गरिएको छ । जिल्लामा किवि उत्पादन भएको १० वर्ष वितिसकेपनि यस सँग सम्वन्धित उद्योगको विकास हुन नसकेको भन्दै यसको प्रवद्र्धनका लागि एक्स्पो सञ्चालन गरिएको हो ।
सुनसरीको धरानमा बिहिबारबाट ‘इलाम किवी फल एक्स्पो २०७६’ सञ्चालन सुरु भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा किवी एक्स्पो गरेको हो । सहआयोजकको रुपमा रहेको धरान उपमहानगरपालिकाले स्थानिय ब्यवस्थापन गर्ने छ । इलाममा उत्पादन भएको किविको बजार खोज्न धरानमा किवी एक्स्पो हुने भएको इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले जानकारी दिनुभयो । जसका लागि १० वटा स्टल मार्फत इलामको उत्पादन विक्रि वितरण भइरहेको छ । सातवटा स्टरबाल किवि र अन्य तीनवटा स्टलबाट इलाममा उत्पादित चिया, ललपिप, घिउ लगायतका परिकार विक्रि वितरण भइरहेको छ ।
किवी फलको बजार प्रर्वद्धनका लागि धरानमा यसले वजारीकरणमा सहयोग मिल्ने बताइएको छ । नेपालमा अन्य फलको तुलनामा महंगो मुल्यमा बिक्रि हुने किविबाट जुस, जाम, अचार लगायतका परिकार बनाउन सकिन्छ । जिल्लामा यसको ब्यवसायिक उत्पादन सुरु भएको १० वर्ष भयो । तर पनि यससँग सम्वन्धित उद्योग सञ्चालन हुन नसकेपछि बाहिरी जिल्लामा बजारीकरण तथा यसको प्रवद्र्धन गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको किवि जोन परियोजना इलामका अध्यक्ष देउकुमार राईले वताउनुभयो । यसले इलाममा उत्पादन भएको किवि प्रवद्र्धन हुने अपेक्षा लिएको पनि उहाँले वताउनुभयो ।
१० वटा स्टल रहने गरी गर्न लागिएको एक्स्पोबाट जिल्लामा उत्पादित किवि बिक्रि वितरणका साथै यसका फाइदाका बारेमा समेत जानकारी गराइने छ । धेरै फलफूलबाट पाउन सकिने भिटामिन एउटै किविबाट पाइने भएकाले पनि यो फल सेवन फलदायी रहने बताइएको छ । एक्स्पो पछाडी यसको महत्व बुझेर भएपनि आगामी वर्षबाट कृषकका घरघरमा नै आएर किवि खरिद गर्नेगरिको वातावरण मिल्ने वाणिज्य संघको अपेक्षा छ ।
यता किवि किसानहरुले समेत यसलाई उत्सवकै रुपमा लिएका छन् । उनीहरुले उत्साहका साथ किवि बिक्रि वितरण गरिरहेका छन् । यसले आगामी वर्षबाट धरानबाट इलाममा नै किवि खोज्दै जाने वातावरण बन्ने किसान ठाकुर खतिवडा बताउनुहुन्छ छ ।
किवि एक्स्पोमा जिल्लामा उत्पादित ग्रिन टि, घिउ, ललीपप, अकबरे, खुर्सानी, बम्बैसन लगायतका वस्तुहरु समेत राखिने छ ।
जिल्लामा किवि उत्पादन सुरुभएको लामो समय भइसकेको छ । यसका लागि संघिय सरकारले सन्दकपुर गाउँपालिकामा मुख्य कार्यालय रहने गरि किविजोन परियोजना समेत सञ्चालन गरिरहेको छ । बिगत दुई वर्ष अगाडी इलाम उद्योग वाणिज्य संघले किवि खेती प्रवद्र्धन र उत्पादन गर्न गाउँगाउँका किसानहरुलाई सहयोग गरेको थियो । हाल बजारीकरणमा समेत सहयोग गर्न किवि एक्स्पो गर्न लागेको हो । एक्स्पोबाट करिव १० कुइँटल किवि विक्रि हुने अनुमान गरिएको छ । यसका लागि धरानको छाता चोकमा स्टल निर्माण भइसकेको छ ।