ताप्लेजुङ : नेपाली काँग्रेसका नेता डा गोविन्दराज पोखरेलले जनप्रतिनिधिले सिर्जनात्मक काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस ताप्लेजुङले आज (शनिबार) सदरमुकाम फुङलिङमा आयोजना गरेको ‘जनप्रतिनिधिको भूमिका र पार्टी सङ्गठन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा उहाँले जनतालाई घरदैलोमै सिंहदरबार आएको अनुभूत गराउन जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रको आवश्यकता र समस्यालाई पहिचान गरी सिर्जनात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका नेता पोखरेलले जनताको आधारभूत आवश्यकता पूरा हुने र दिगो किसिमका योजना बनाएर काम गर्न जनप्रतिनिधिलाई सुझाउनुभयो ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन तथा सङ्गठनलाई सुदृढ तुल्याउने उद्देश्यले पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गरी सो कार्यक्रमको आयोजना गरिएको पार्टी सभापति लिला बोखिमले जानकारी दिनुभयो ।
कार्यक्रममा काँग्रेसबाट निर्वाचित ताप्लेजुङका विभिन्न गाउँपालिका र वडाका अध्यक्षलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।