इटहरीः जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले अन्तिम ३ दिनको म्याद थप गरेको छ । थप अनुसन्धानको लागि भन्दै अदालतले पाँचौं तथा अन्तिम पटक ३ दिनको म्याद थप गरेको हो । अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ । प्रहरीले यसअघि थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुन म्याद थप गरिएको थियो । गिरीलाई ३ नं इजलासका न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् । गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काइएको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् ।