इटहरीःसुनसरीमा आइतबार ठुलो परिमाणमा गोली, आधुनिक हतियार र बिस्फोटक पदार्थ गाडेको अबस्थामा सुरक्षाकर्मीले बरामद गरेपछि देशैभर तरंग पैदा गरायो । द्धन्दकालिन अबस्थामा तत्कालिन माओवादीले लुकाइ छिपाइ राखेको उक्त गोलीगठ्ठा प्रहरी र सेनाको मद्धतले बराहक्षेत्र ५ स्थित भरौलका खेमराज प्रधानको घर नजिकैबाट उत्खनन् गरि निकालियो ।
एक थान एसएमजी हतियार, बिभिन्न हतियारमा लाग्ने ९ हजार ९ सय ८२ राउण्ड गोली र बम बनाउन प्रयोग हुने फलामका पाईपहरु भेटिएपछि स्थानियहरु समेत आतंकित बनेका थिए । प्रहरी, सेना र शसस्त्रका उच्च पदस्थ अधिकारीहरुले पनि बरामद सामाग्रीको बिषयमा चासो राखेका थिए ।
जनयुद्धको समयमा पूर्वी तराईको ‘रोल्पा’ कहलिएको सुनसरीको भरौल र कालाबञ्जार क्षेत्रमा त्यस समय माओवादीको आधार इलाकानै थियो । जंगल क्षेत्र भएकाले पनि शसस्त्र माओवादीको गतिबिधि यस क्षेत्रमा बढी हुने गर्दथ्यो ।
जनयुद्ध टुङगीएपछि भरौल र कालाबञ्जार क्षेत्रमा घरहरु बन्न थाले । त्यही क्रममा खेमराज प्रधानले २०६७ सालमा पूर्व गाबिस सचिव छत्र प्रधानबाट अहिलेको जमिन खरिद गरेका थिए । जमिन खरिद गर्दा त्यस समय बाँझो र केही रुख मात्र थिए ।
घर बनाएपछि खाली रहेको जमिनमा प्रधानले २०६३ सालमा कुखुराको फर्म संञ्चालन गरेका थिए । करिब ढेड बर्षपछि उनले फर्म बन्द गरे । त्यसपछि खासै प्रयोगमा नआएको त्यस स्थानमा खेमराजले गाईबस्तु राख्नलाई गोठ बनाउने सोचमा थिए । एकजना साथीको मद्धतले पुरानो खम्बा हटाएर नयाँ खम्बा हाल्ने क्रममा आइतबार जमिन खन्दा प्लाष्टिकको ३ वटा ड्रम भेटाए । खम्बा हाल्नलाई खाल्डो खनेका उनले जमिन मुनी करिब दुई फिट गहिरोमा ति ड्रम फेला परेका थिए ।
ड्रम खोल्दा गोलीनै गोली भेटेपछि तत्काल उनले सेनालाई जानकारी गराए । सेनाले मौखिक भन्दापनि लिखित निवेदन दिन भनेपछि आफुले लिखित निवेदन पूर्वी पृतना हेडक्वाटरका पृतनापतिलाई सम्बोधन गरेर पत्र पठाएको उनले बताए ।
त्यस लगतै सेनाले गोलीसहित अन्य बिस्फोटक पदार्थसमेत हुने आशंकामा प्रहरीलाई जानकारी गराई संयुक्त रुपमा सुरक्षाकर्मीको टोली खेमराजको घर पुगेको थियो ।
सेनाले ‘मेटल डिटेक्टर’ प्रयोग गरी त्यस एरियाको सर्च गरेपछि मात्र उत्खनन् गरेको थियो ।
आफ्नै जमिनमा यतिधेरै परिमाणमा गोलीगठ्ठा भेटिएपछि खेमराज आफै आश्चर्यमा छन् । माओवादीमा आस्था राख्ने आफु सामान्य कार्यकर्ता भएको उनले बताए ।
‘जनयुद्धको समयमा मेरो घर भएको क्षेत्रमा माओवादीहरु रातको समयमा आउने गर्थे, तर जमिनमा यस्ता सामाग्रीहरु भेटिएपछि अहिले म आफै छाँगाबाट खसेझै भएको छु’ उनले भने ।अरुलाई जानकारी भएको भए ठुलो दुरुपयोग वा दुर्घटना पनि सक्थ्यो, तर सुरक्षाकर्मीले लगेपछि त्यो जोखिम टरेको उनि बताउछन् ।