सङ्खुवासभा : अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन ।
सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ । छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आज (बिहिबार) देखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।
छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले जनाएका छन् । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ । पावर हाउसमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताको चार वटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुने छ ।