इटहरीः आफ्नै एक अनुयायी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी(कृष्णदास)लाई बचाउ खेलमा राज्यका उपल्लो तहका व्यक्तिहरु लागि परेको जनाउदै कडा कानूनी कार्वाहीको माग गर्दै जिल्ला अदालत सुनसरी अगाडी महिला अधिकारकर्मीहरुले विरोध प्रर्दशन सुरु गरेका छन् । केही बेर अघि कृष्णदासलाई प्रहरीले जिल्ला अदालत इनरुवा सुनसरी बुझाएको छ । उससंग बयान लिने तयारी अदालतले गरेको छ । उनीसंग आज अदालतले बयान लिएर थुनछेक बहस सुरु हुने छ ।
पिडित महिलाको न्यायका लागि र जबरजस्ती करणीमा संलग्न कृष्णदासलाई हर्दैसम्मको कानूनी कार्वाहीको फैसलाका लागि दवाव सृजना गर्न जिल्ला अदालत परिसर बाहिर महिला अधिकारकर्मीहरुले धर्ना दिएर विरोध प्रर्दशन गरिरहेको महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताइन् ।
दवाव प्रर्दशनमा सहभागी संविधानसभा सदस्य अनिता परियारका अनुसार अधिकारकर्मी तथा राजनितिक दलका महिलाहरुले कालोपट्टी बाँधेर प्ले कार्ड तथा सेतो अक्षरले कार्वाहीको मागको नारा लेखिएको व्यानर बोकेर प्रर्दशन गरिरहेका छन् । कृष्णदासलाई बचाउनका लागि प्रहरी प्रशासन देखि उपल्लो तहका व्यक्तिहरु समेत लागेको आफुले पनि पत्तो पाएकाले पिडित न्याय दिलाएर कानूनी राज्य स्थापित गराउन आफुसमेत सहभागी भएको परियारले बताइन् । प्रहरी प्रशासन र उपल्लो तहका व्यक्ति मिलेर कृष्णदास जस्ता अपराधीलाई बचाउ गरे आन्दोलनलाई कडा बनाउने उनले बताइन् । पिडित थप पीडा दिन प्रहरीले खेलको भूमिका र फितलो मिशिल निर्माणको नजिकबाट अध्ययन गरेकाले सहि न्याय नपाए घटनालाई अन्तराष्टिय बनाउने चेतावनी महिला अधिकारकर्मी योसा गुरागाईले दिएकी छन् । कृष्णदास प्रकरणले कानूनी राज्यको प्रत्याभूत गर्न नसकेको अर्की अधिकारीकर्मी शान्ति गजमेरले बताइन् । मुटुको विरामीको नाटक गरेर कृष्णदासले लुतो र दादको औषधी लगाएर हिरासतमा बस्ने समय अस्पतालको भिआइपी बेडमा बिताएको बताइन् । कृष्णदासले झुठो स्वास्थ्य विवरण पेश गर्दापनि प्रहरीले वेवास्था गरेकाले प्रहरीको अनुसन्धानप्रति महिलाअधिकारकर्मीहरुलाई शंका रहेको उनले बताइन् । यदि यो घटनामा अन्य सर्वसाधारण परेका भए त्यसरी अस्पतालको भिआइपी कोठामा बस्नका लागि प्रहरीले दिन्थियो भन्ने प्रश्न पनि उनले गरिन् । कृष्णदासबाट यसअघि पिडित भएका धेरै महिला दिदि बहिनीहरु आफुहरुको सम्पर्क आएको उनले बताइन् । उनले धर्म गुरु भएर अपराधजन्य कार्य गर्नेलाई फाँसी दिदा समेत केही फरक नपर्ने बताइन् ।
जिल्ला अदालतको दवावमूलक कार्यक्रमपछि जिल्ला प्रहरी कार्यालय अगाडी पुगेर कोणसभा गरिने महिला आधारशिलाकी सुनसरी अध्यक्ष उप्रेतीले बताइन् । साथै आजै सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश नम्बर १ का गृह तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेटेर कृष्णदासलाई बचाउका लाग्नेहरुलाई कानूनी कार्वाहीको माग गर्ने कार्यक्रम तय भएको उनले बताइन् ।
उता, कृष्णदासका केही अनुयायीहरुले पनि अदालत परिसर बाहिर राम राम भन्दै भजन गाँइरहेका छन् । जिल्ला अदालत परिसर भित्र संचारकर्मीहरु समेतलाई प्रवेश निषेध गरि कृष्णदाससंग बयानको तयारी गरिएको त्यहाँ रहेका अपराध बिटका पत्रकार मनोज भुजेलले बताएका छन् ।