बिराटनगर : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी तथा अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमको १० वटा विरुवामा पानी राखेर उद्घाटन गर्ने क्रममा प्यासीले उक्त कुरा बताउनु भएको हो ।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गर्नुभयो । प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका महिलामा समानता र सक्षमता वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० भिन्न प्रकृतिका अपाङ्गता भएकाहरुलाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले मोरङको धनपालथान गाउँपालिकामा ११ विघा क्षेत्रमा निर्माण गरिने ज्येष्ठ नागरिकगृहमा एउटा अपाङ्ग तालीम केन्द्र यस वर्षदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले नगर क्षेत्रमा निर्माण गरिने फूटपाथ र सडक अपाङ्गमैत्री हनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा अपाङ्गता भएका व्यक्तिलाई छुट्याइएको पाँच प्रतिशत आरक्षँण नहटाउन आग्रह गर्नुभयो ।