इटहरीः हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई मोरङको कानेपोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले सुनसरीको वराहक्षेत्र ६ का २४ वर्षीय राजु भनिने सुबिन्द्र माझीको हत्या गरेको प्रहरीको दाबी छ । भदौ २४ गते सुनसरीको वराहक्षेत्र – ६ स्थित जब्दी भन्ने ठाउँमा रहेको सप्तकोशी नदीको ३ नम्बर स्परको डिलमा रगत सुकेको टाटा लतपतिएर माटोमा घिसारिएको डाम देखिएको भनी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
सो स्थानमा मोबाइल र चप्पलसमेत फेला परेको भनी स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली घटनास्थलमा गई खोजी गर्दा माझीको शव पानीभित्र फेला परेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको वराहक्षेत्र–६ का २१ वर्षीय शक्तिराम तामाङ र मोरङको कानेपोखरी –५ का २१ वर्षीय शरण तामाङलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाले मृतकको टाउको, छाती तथा पेटका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा आरोपितहरूलाई कानेपोखरीबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि सुनसरी जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।