इटहरीःचोरीका बाईकका पार्टस निकालेर बेच्ने गिरोहले संचालन गरेको मिनि वर्कसप सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
लामो समय देखि चोरीका बाईकको पार्टस निकालेर बेच्ने धन्दा गर्दै आएका सुन्दर हरैचा १ गोठगाउँका सन्तोष खत्रीले संचालन गरेको मिनि वर्कसप सगै मोरङ प्रहरीले मोटरसाईकल चोरीमा संलग्न सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिश राईलाई समेत पक्राउ गरेको छ । उनिहरुले सुन्दरहरैचा ५ बाँसबारीस्थित संगम गुरुङको घरबाट मंसिर २१ गते राति चोरी भएको को ३५ प २२७३ नम्बरको २ सय सिसिको पल्सर मोटरसाईकल चोरीमा संलग्न रहेको प्रहरीको भनाई छ ।
मोरङको सुन्दरहरैचा ६ का दिपेन्द्र राई र बाँसबारी स्थित संगम गुरुङको मोटरसाइकल घरबाटै चोरी भएको निवेदन ईलाका प्रहरी कार्यालय बेलबारीमा दिए पछि प्रहरीले खोजतलास लाई अघि बढाउँदै जाँदा खत्रीले संचालन गर्ने मिनि वर्कसपमा चोरिएका बाईकको पार्टसहरु निकाल्ने, मोडिफाइ गरेर बेच्ने गरेको पाईएको थियो ।
राई र गुरुङले प्रहरीमा उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी बिश्व अधिकारीले तत्कालै ‘बिशेष टोली’ परिचालन गरी मोटरसाईकल चोरी गर्ने ‘गिरोह’ सम्म पुग्ने रणनिति बनाएका थिए । उत्तरी मोरङ क्षेत्रमा बाईक चोरीका घटना बढेपछि गिरोहसम्म पुग्न प्रहरी आफै चोरीको बाईक किन्ने योजना साथ परिचालन भएको थियो । त्यस क्रममा प्रहरी आफै ग्राहक बनेर मोरङको केराबारी क्षेत्रका शंकाष्पद केही युवालाई पछ्याउन थाल्यो । त्यस क्रममा मोरङ जिल्लामा बाईक चोरीको घटनामा धेरै पटक पक्राउ परेका सुन्दरहरैचा १ गोठगाँउका सन्तोष खत्री पक्राउ परेका थिए । खत्रीसँग बरामद भएको स्कुटर मोरङको सुन्दरहरैचा ६ का दिपेन्द्र राईले बेलबारी प्रहरीमा खोजतलासको लागि दिएको को १४ प ८४४९ नै थियो ।
पक्राउ परेका खत्री प्रहरीको नजरमा ‘प्रोफेसनल’ चोर हु्न् । उनले यस अघि चोरी गरेको बाईक तत्कालै सिमा पार गर्ने गर्दथे । तर यो पल्ट भने खत्रीले दुईजना साथीको मद्धतमा मोरङको केराबारी क्षेत्रलाई आधार बनाएर घरमै पार्टपुर्जा निकाल्ने र बेच्ने ‘मिनि वर्कसप’ खोलेका थिए । खत्रीसँग प्रहरीले गरेको केरकारपछि केराबारी ७ डाँगीमा उनकै पर्टनरको घरमा प्रहरीले सो मिनि वर्कसप फेला पारेको थियो ।
घरभित्रै बनाइएको वर्कसपबाट प्रहरीले बाईकको पार्टपुर्जा, इन्जिन लगायत सामाग्रीहरु बरामद ग¥यो । बाईकको पार्टस खोलेर खत्री समूहले काम लाग्ने सामानहरु बेच्ने ‘धन्दा’ शुरु गरेका थिए । प्रहरीले उनिहरुले बाईकको पार्टस ग्यारेज मार्फत बिक्री गर्ने गरेको र कतिपय पार्टस पुरानो बाईकमा प्रयोग गरेको भेटाएका थिए ।
साथै खत्री समूहले चोरीका बाईक बिक्री गर्ने गरेका समेत थिए । उनिहरुले मोरङको पहाडी क्षेत्रमा पैसा असुल्न बाईक ‘डिक’ राख्ने गर्दथे । कतिपय व्यक्तिलाई यो समूहले बाईक ‘सस्तोमा भेटिएको’ भन्दै बेच्ने समेत गरेको प्रहरीको भनाई छ । पछि बाईक पास गर्ने समयमा यी समूहले सिम परिवर्तन गर्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरी बताउँछ । श्रेष्ठ र राईपनि खत्री समूहकै ‘पार्टनर’ हुन सक्ने प्रहरीले जनाएको छ ।
खत्री समूह सुनसरीको इटहरी, धरान र दुहबी क्षेत्रमा पनि बाईक चोरीका घटनामा संलग्न हुन सक्ने प्रहरीको अनुमान छ । मोरङका एसपी बिश्व अधिकारीले बाईक चोरीमा संलग्न तिनजनालाई पक्राउ गरिएको बताउदै चोरीमा संलग्न अन्य केहीको पनि खोजतलास भइरहेको बताए ।
उनीहरुसँग बरामद भएको ६ वटा बाईक र पार्टसहरु आइतबार इलाका प्रहरी कार्यालय बेलबारीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । उक्त पत्रकार सम्मेलनमा स्वयम प्रहरी उपरिक्षक अधिकारी उपस्थित थिए । अधिकारीले सामानको सुरक्षा गर्नु सबै भन्दा पहिले आफ्नो जिम्मेवारी भएको तेस पछि मात्र प्रहरीको भुमिका हुने भएकोले यसमा सबैले ध्यान दिन आबश्यक रहेको उल्लेख्य गरे ।