इटहरी : इटहरी नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ । इटहरी वडा नम्वर ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो । त्यस पार्किङ्ग स्थलमा सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।

इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्‍तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ ।

सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ । पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सबै अटोमेटिक हुने छ । त्यहाँ गाडी धुने स्मार्ट वास र कफि सपको पनि ब्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए ।