इटहरीःइटहरी ४ की रिजु कुरुवाङले श्रीमान वेपत्ता भएको भन्दै साउन २८ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजतलासको लागि निवेदन दिईन् । इटहरीमै सामान्य व्यवसाय गर्ने श्रीमान सागर पाँच महिनादेखि वेपत्ता पछि दुई छोराछोरी सहित उनको अबस्था दयनिय बनेको छ ।
श्रीमानको कमाइले घर खर्च धान्ने उनको परिवार यतिबेला तनावसगै बिहान बेलुका के खान्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ । रिजु अहिले माइतीको शरणमा छिन् । उनि श्रीमान कतै भेटिए कि भनेर प्रहरी कार्यालय प्राय धाउने गर्छिन ।
इटहरी ३ की मनमाया लिम्बुको पनि पिडा उस्तै छ । श्रीमान भिमध्वज तिन महिनादेखि वेपत्ता छन् । प्रहरी कार्यालयमा निवेदन दिएपनि अहिलेसम्म भिमध्वजको अत्तो पत्तो छैन ।
इलाका प्रहरी कार्यालय इटहरीमा मानिस वेपत्ता भएको भन्दै निवेदन दिनेको संख्या चालु वर्षको पुस २१ गतेसम्म ३९ पुगेको छ । जसमा श्रीमान वेपत्ता भएको भनि मात्र निवेदन दिनेको संख्या १८ छ ।
इटहरी प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी नायब निरिक्षक (सई) कृष्ण कुमारी अधिकारी वेपत्ता भएका पुरुषहरु मध्ये धेरैले दोस्रो विवाह गर्नकै लागि परिवार छाडेर वेपत्ता हुने गरेको बताउँछिन् ।
श्रीमती हँुदाहुदै पनि अबैध सम्बन्ध राख्ने प्रमुख कारण पुरुषहरुले श्रीमती, बालबच्चा र घरनै छाडेर वेवत्ता भएको प्रहरी अनुसन्धानले देखाउँछ । नेपालमा गैरकानूनी मानिएको दोस्रो विवाहको लागि उनीहरु वेपत्ता हुने गर्छन, जसको कारण श्रीमती तथा बालबच्चाहरु बेसाहरा हुने गरेको अधिकारीको तर्क छ ।
पुरुष वेपत्ता हुनुमा अर्काे कारण रिण तिर्न नसक्नु र पारिवारिक तनाव पनि हुन सक्ने सई अधिकारी बताउँछिन् । उनले भनिन्, ‘हामी कहाँ जाहेरी आएपछि खोजतलास गर्ने र परिवारलाई बुझाउने काम हो, तर प्राय वेपत्ता भएका पुरुषहरु कमै मात्रमा भेटिने गर्छन् ।’
सुनसरीका प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेल पुरुष वा महिला वेपत्ता हँुदाको अवस्थामा प्रहरी गम्भीर रुपमा खोजतलासमा खटिने बताउँछन् । उनले भने, ‘पुरुष वेपत्ता हुनुको कारण धेरै हुनसक्छन्, पारिवारिक तनाव, रिण, प्रेम सम्बन्ध आदीले गर्दा यो अबस्था आउन सक्छ ।’
पुरुषको हकमा भने वेपत्ता भएको बर्षौ पछि घर फर्किएको उदाहरण पनि देखिएको बताउदै पोखरेलले बिशेष गरी दोस्रो विवाह गर्नका लागि विवाहित पुरुष वेपत्ता हुने गरेको बताए