इटहरीःबिहिबार दिउसो सिद्धबाबा भनिने कृष्णदास गिरी बस्ने चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पुग्दा पहिलेको भन्दा भिन्न दृष्य देखियो । दुई महिना अघिसम्म अनुयायीहरुको खचाखच र भक्तजनको भिड लाग्ने आश्रममा अहिले भने कमै संख्यामा भक्तजन देखिए ।
सेतो बस्त्र धारी केही युवाहरु आश्रम भित्रको मन्दिरमा ध्यान गरिहरहेका थिए भने केही महिलाहरु आश्रमको भण्डारन चामल केलाउन व्यस्त थिए । तर बिहिबार दिउसोको दृष्य अन्य दिनभन्दा बिलकुलै भिन्न थियो ।प्राय आश्रमको दिउसोको समयमा दैनिक सयको संख्यामा अनुयायी तथा भक्तजन रहनेमा अहिले भने मुस्किलमा १०–१५ मात्र देखिए ।
आश्रम प्रबेश गर्ने मुख्य ढोकामा सोधिखोजी गरेपछि मात्र भित्र प्रबेश गर्न दिइन्छ । पहिले भने त्यस्तो सोधिखोजी हुदैन थियो ।
आश्रममा गिरीले आयुरवेद सम्बन्धि उपचार समेत गर्ने गर्दथे । त्यसको लागि पनि बिभिन्न स्थानबाट उपचारको लागि आउनेको संख्या बढी हुने गर्दथ्यो । तिर्थ भ्रमण तथा गिरीलाई भेट्न आउनेहरुको सबारीको चाप पनि निकै हुने गर्दथ्यो । तर अहिले पनि आश्रम सुनसान जस्तै बनेको छ ।
लामो समयदेखि सेवामा बस्ने गिरीका अनुयायीहरुले पनि क्रमश आश्रम छाड्न थालेको स्थानिय बताउछन् ।कार्तिक ४ गते सोही आश्रममा एक महिलालाई जवरजस्ती करणीको अभियोगमा गिरी एक महिनासम्म प्रहरीको (अस्पताल) हिरासतमा बसे । पछि सुनसरी जिल्ला अदालतले उनलाई तिनलाख धरौटीमा रिहा गर्न आदेश दियो । गिरीमाथि लागेको आरोपको फैसाला भने हुन बाँकीनै छ ।
यता सुनसरी जिल्ला अदालतको आदेश ‘न्यायिक’ नभएको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले यो मुद्धा उच्च अदालत बिराटनगरमा पुगेको छ ।
गिरी अहिले चतरा आश्रममै छन् । उनि हुदा समेत आश्रमको रौनक त्यति छाएको छैन । स्थानिय भन्छन् ‘उनि चतरा आएदेखि आश्रम परिसर भित्रै पनि देखिन छाडे ।’ प्राय उनि आफ्नै कोठामा ध्यान गरेर बस्ने गरेका छन् ।
एक स्थानिय महिला भन्छिन् ‘महिलामाथि गलत नजर लगाउने यस्ता ‘ढोगी बाबा’ को पर्दाफास पछि उनको अस्तित्व अब चतरामा सकियो ।’
आफूलाई जगतगुर बताउने गिरी त्रिदण्ड धारण गरेपनि महिलामाथि गरेका यौन हिसा नौलो नभएको बताउछिन् ।
‘सिद्धबाबाको फर्दाफास पहिलेनै हुनु पर्दथ्यो, हामीले धेरैको पिडा र चित्कार प्रत्यक्ष देखेका छौ ।’ ‘सायद त्यो पापको घडा पोखिएको पो हो की ?’ उनले भनिन् ।
हिन्दु सनातन धर्ममा त्रिदण्ड धारण गरेपछि महिला र आगोबाट टाँढा रहनु पर्ने हुन्छ तर आश्रम भित्रको यो घटनाले गिरीमाथिको भ्रम तोडिएको उनले बताईन् ।
अर्की एक महिलाले आश्रम भित्र हुने गरेको कृयाकलाप अब लामो समयदेखि आश्रममै बस्ने महिला दिदि बहिनिहरुले भण्डाफोर गर्न लागेको बताईन् ।
‘धेरै जना महिलाहरु आश्रमको सेवा छाडेर बाहिर आउनु भएको छ’ उनले भनिन् ‘भित्र महिला तथा युवतीमाथि हुने यौन शोषण अब सार्वजनिक हुनेछ’ ।
‘साधु सन्तले चतराको धार्मिक बिकास गरे भन्ने बिषयमा हामी खुशी थियौ, तर भित्र यस्ता हर्कत हुने भएपछि कसरी उनका अनुयायी तथा भक्तहरुले उनलाई पुज्ने ?’ अर्की एक महिलाको तर्क गरिन ।
जनप्रतिनिधि समेत रहेकी एक स्थानिय महिलाका अनुसार घटनापछि गिरी बिरुद्ध लाग्ने चतराका महिलाहरुलाई ‘टार्गेट’ गरिएको दाबी गरिन् ।
‘अदालतमा गिरी बिरुद्ध नाराबाजी गर्ने महिला दिदिबहिनिहरुको सूची तयार पारिएको भनेर हामीले जानकारी पाएका छौ’ उनले भनिन् ‘यदि यस्तो हो भने आश्रमको अस्तित्वनै नरहने गरी चतरावासी ओर्लिने छन् ।’
पिठबाट राजिनामा दिन थाले पदाधिकारीहरु
कृष्णदास गिरीले संञ्चालन गर्ने रामानान्दचार्य सेवा पिठका पदाधिकारीहरुले राजिनामा दिन थालेका छन् ।
आफूलाई जगतगुर बताउने गिरी त्रिदण्ड धारण गरेपनि महिला तथा युवतीहरु प्रति नकरात्मक सोच राख्ने ‘ठोगी’ बाबा भएको भन्दै प्रतिष्ठानका सचिव र महासचिवले राजिनामा दिएका हुन्।
सचिव युवराज भट्टराई र महासचिव भेषराज घिमिरेले पिठबाट राजिनामा दिइसकेका छन् ।
महासचिव भेषराज घिमिरेले बिहिबार चतरामा पत्रकार सम्मेलन गिरी सिद्धबाबामाथि लागेको आरोपले प्राचिन हरिद्धावार चतराधामको अपमान भएको भन्दै पिठबाट राजिनामा दिएको बताए । उनले आश्रम भित्र संञ्चालन हुने कुनैपनि कार्यमा आफु सहभागी नहुने समेत प्रतिबद्धता जाहेर गरेका थिए । आश्रम भित्र महिलामाथि भएको जघन्य घटनालाई सरकार, न्यायालय र प्रहरीको बलमा मिलाएपनि चतरावासी र समग्र हिन्दु आस्था राख्ने जो कोहीको लागि यो आश्रम अब मान्य नहुने उनको भनाई छ ।
राजिनामा दिने अर्काे युवराज भट्राईले पनि चतराको धार्मिक एकता केही ढोगी बाबाका कारण तोडिन लागेको प्रति चिन्ता व्यक्त गरे । आश्रम भित्रका गलत कुराको बारेमा बोल्दा उल्टै ज्यान मार्ने धम्की दिने बाबा र उनको झुण्डलाई आफुले त्यागेको बताउदै अब धर्मको नाममा हुने वेथिति बिरुद्ध आवाज उठाउने उनले पत्रकार सम्मेलनमा बताए ।
भट्राईका अनुसार क्रमश अन्य साथीहरुले पनि आश्रम भित्र रहेका बिभिन्न जिम्मेबारीबाट राजिनामा दिने जानकारी दिए ।