प्रदेश नं २ को बहुआयामिक गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी

  • पुस २६, २०७६
  • ३७२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


जनकपुरधामःप्रदेश नं २ को बहुआयामिक गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी देखिएको तथ्य सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको आर्थिक सर्वेक्षण २०७५ अनुसार राष्ट्रिय औसत बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ भने प्रदेशको बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत रहेको रहेको छ ।
मानव विकास सूचकाङ्कका आधारमा पनि पछि परेको यस प्रदेशको गरिबीसम्बन्धी अन्य सूचकसमेत राष्ट्रिय औसतभन्दा तल रहेको देखिएको छ । तथ्याङ्कअनुसार बहुआयामिक गरिबको सङख्या २४.१ र मानव विकास सूचकाङ्क ०.४२१ प्रतिशत रहेको छ । गरिबीको सघनताका दृष्टिले राष्ट्रिय औसत ४४.२ प्रतिशत छ भने प्रदेशको गरिबीको सघनता ४५.३ प्रतिशत देखिएको छ ।
 मानव गरिबीको सूचकाङ्क पनि प्रदेशका सम्पूर्ण जिल्लामा राष्ट्रिय औसतभन्दा बढी रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्कअनुसार प्रदेशअन्तर्गतका जिल्लामध्ये मानव गरिबीको सूचकाङ्कको उच्चमानसहित रौतहट जिल्लामा मानव गरिबी सबैभन्दा बढी ४६.४३ तथा पर्सा जिल्लामा सबैभन्दा कम ३६.३७ प्रतिशत रहेको अवस्था छ ।
प्रदेशको महोत्तरीको ४४.७५, सर्लाहीको ४३.८६, सिरहाको ४२.६२, धनुषाको ४१.७२, बाराको ४०.०९ र सप्तरीको ३८.३४ प्रतिशत मानव गरिबीको सूचकाङ्क रहेको छ ।
प्रदेशमा रहेका १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या एक लाख ५३ हजार ८०९ मध्ये ३७ प्रतिशत बालबालिका कुपोषणको सिकार छन् । सोमध्ये १ देखि १४ वर्षका उमेर समूहका ८३.८ प्रतिशत बालबालिकाले स्याहार गर्नैबाटै शारीरिक कष्ट पाएका छन् ।
कुपोषण भएका ५ वर्षमुनिका बालबालिकामध्ये उचाइअनुसार तौल कम भएका बालबालिकाको सङ्ख्या १४.४ प्रतिशत रहेको छ भने उमेरअनुसार तौल कम भएका बालबालिका ३६.८ प्रतिशत देखिएको छ ।
 नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा भेटिएका कालाजारको घटनामध्ये १३.८ प्रतिशत घटना प्रदेश नं २ मा हुने गरेको पाइएको छ । खासगरी धनुषा र सर्लाही जिल्ला कालाजारका लागि बढी जोखिममा रहेको देखिएको छ ।
त्यस्तै हात्तीपाइलेका घटनाहरूमध्ये १८.३ प्रतिशत घटना यस प्रदेशमा भएको देखिएको छ । महोत्तरी र रौतहट जिल्ला यसका लागि सबैभन्दा उर्वर देखिएको छ । कुष्ठरोगको हकमा नेपालमा हुने सबै घटनाको ४०.३ प्रतिशत हिस्सा यस प्रदेशमा रहेको छ । यो रोग यस प्रदेशका आठै जिल्लामा भेटिएको भए पनि धनुषा जिल्लामा सर्वाधिक रहेको छ । महोत्तरी र बारा जिल्लामा पनि यो रोग लाग्नेको सङ्ख्या अधिक देखिएको छ ।
 यस प्रदेशमा जम्मा जनसङ्ख्याको १.३२ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएको देखिएको छ । यो प्रतिशत राष्ट्रिय औसत १.९४ प्रतिशतभन्दा केही कम हो ।
त्यस्तै प्रदेशका पुरूषमध्ये १.५१ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएका छन् भने राष्ट्रमा यस्ता पुरुष २.१८ प्रतिशत रहेको छ । त्यस्तै प्रदेशका महिलामध्ये कुनै न कुनै प्रकारको अपाङ्गता भएकाको सङ्ख्या १.१३ प्रतिशत तथा समग्र राष्ट्रको १.७१ प्रतिशत रहेको छ । प्रदेशभित्र कुनै न कुनै प्रकारको अपाङ्गता भएकाको प्रतिशत बारा जिल्लामा सबैभन्दा बढी १.६९ प्रतिशत तथा पर्सा जिल्लामा सबैभन्दा कम १.०३ प्रतिशत रहेको छ । सबै जिल्लामा महिला तथा पुरुष दुवैमा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका र त्यसपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति छन् ।
 तथ्याङ्कअनुसार यस प्रदेशमा नवजात शिशु मृत्युदर राष्ट्रिय औसतभन्दा बढी छ । प्रतिहजार जीवित जन्ममा राष्ट्रमा २१ जना शिशुको मृत्यु एक महिना नपुग्दै हुन्छ भने यस प्रदेशमा यसरी मृत्यु हुने शिशुको सङ्ख्या ३० जना रहेको छ ।
त्यस्तै प्रतिहजार जीवित जन्ममा एक महिनादेखि एक वर्षको उमेरभित्र मृत्यु हुनेको सङ्ख्या राष्ट्रिय औसतमा १२ जना छ भने यस प्रदेशमा १३ जना रहेको देखिएको छ । सबैभन्दा प्रचलित शिशु मृत्युदर पनि यस प्रदेशमा ४३ तथा राष्ट्रिय औसत ३२ जना प्रतिहजारमा रहेको पाइएको छ ।
यही अवस्थालाई दृष्टिगत गरी प्रदेश सरकारले उच्च मानव विकास र पहिचान, समृद्ध मधेश समाज भन्ने सोचसँगै सरकारको पहिलो आवधिक योजनाको आधारपत्र निर्माण गरेको छ । आधारपत्रमा प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याई उच्च आर्थिक वृद्धिदर हासिल गर्ने गन्तव्य निर्धारण गरेको छ । सोका लागि सामाजिक विकास, पूर्वाधार विकास, कृषिको विकास, पर्यटनको विकास, वन, वातावरण तथा चुरेको संरक्षण र सम्वद्र्धन, उद्योग स्थापनाको विकास, मानवीय स्रोतको विकास र रोजगारी सिर्जना, सुशासनलगायतका विकासको प्राथमिकतामा जोड दिएको छ ।
 प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले आधारपत्रमा गरिबी न्यूनीकरणतर्फ गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तरलाई पाँच वर्षभित्र २७.७ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने र योजना अवधिभित्र ११ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिइएको बताउछन् ।
सोका लागि कूल स्थिर लगानी ११ खर्ब ५९ अर्ब ३६ करोड आवश्यक पर्ने पर्ने अनुमान गरिएको छ । योजनात्मक लगानीमा सार्वजनिक क्षेत्रबाठ ३८, निजी क्षेत्रबाट ५८ र सहकारी क्षेत्रबाट चार प्रतिशत लगानी अनुमान गरिएको उनले जानकारी दिए ।
आधारपत्रमा प्रक्षेपित लगानीको फतिफलका रूपमा योजनाको अन्तसम्ममा यस प्रदेशमा प्रतिव्यक्ति आय एक हजार (अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । हाल यस प्रदेशको प्रतिव्यक्ति आय ७९९ अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

संविधान दिबसको अबसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा रक्तदान कार्यक्रम

इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको ...

जनाचेतनामूलक साइकल यात्राबाट इटहरी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेक ...

संक्रमितले नै चोरे चतरा धामको आइसोलेसनबाट सामान

इटहरीः सुनसरीको बराहक्षेत्रको चतरा धाममा रहेको अइसोलेसन कक्षबाट सामान चोरी भएको छ । आइसोलेसनमा संक्र ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved