इलाम : इलामको देउमाई नगरपालिका–७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ । टावरमा गएराती अज्ञात समूहले बम बिस्फोट गराएको हो ।

बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरिक्षक राजकिशोर तेलीले जानकारी दिए । उनका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ ।
दुईवटा बम बिस्फोग गराइएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै अर्को नपडकिएको सुतली बम र तार समेत फेला परेको छ । फेला परेको सुतली बम नेपाली सेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइ सकेको उनले बताए । राती करिब १२ बजे र ३ बजे विस्फोटको आबाज सुनेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । तर घटना स्थलमा आज बिहान मात्र प्रहरी पुगेको थियो ।

घटनाबाट के कती क्षती भयो भन्ने यकिन जानकारी आएको छैन । साथै कस्ले बिस्फोट गराएको भन्नेबारे समेत खोजी सुरु भएको तेलीले जानकारी दिए । घटना स्थलमा आज बिहान जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको छ ।