इटहरीः फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्री कार्यालय दुहवी, सुनसरीमा आज बसेको साधारणसभाले आफ्ना शेयरधनीलाई ४५ प्रतिशत लाभांश पारित गरेको हो ।

फरवार्डले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ३२.५ प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँ बराबरको शेयर बोनस लाभांश अनुमोदन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जानकारी दिए । यस्तै संस्थाले ४ करोड ७२ लाख ०९ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।नेपाल राष्ट्र बैंकबाट स्विकृत लिएर बोनस लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले सर्वसम्मतरुपमा पारित गरेको हो ।

साधारण सभाले संस्थाको नाम परिवर्तन गर्ने प्रस्ताव समेत सर्वसम्मतले पारित गरेको छ । अब संस्थाको नाम फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. रहनेछ । यस अघि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि. रहेको थियो ।आजको साधारणसभाले संस्थालाई कुनै ‘घ’ वर्गको वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।

२०७९ सालमा सुनसरीको दुहवीबाट सुरु भएको फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले बताइन् । कार्यक्रममा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश गर्दै चौधरीले विपन्न वर्गको उत्थान र गरिबी न्यूनिकरणमा माइक्रोफाइनान्सले ठूलो टेवा दिएको जिकिर गरिन् । ‘मुलुकको आर्थिक विकास र गरिबी निवारणमा माइक्रोफाइनान्सले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फरवार्डले लघुवित्त कार्यक्रम मार्फत ग्रामिण क्षेत्रमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गरी उनीहरुलाई आर्थिक क्षेत्रमा पहुँच पुर्याउन टेवा दिइरहेको छ ।’ चौधरीले भनिन् ।

संस्थाले यस वर्ष आफ्नो पुँजी बृद्दि गरेको छ । आव ०७५÷०७६ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई ३२.५० प्रतिशत बोनश शेयर वितरण गरी विगतको ३७ करोड ७६ लाख ७२० कुल चुक्ता पुँजी रहेकोमा ०७५÷०७६ मा पुँजी बृद्दि गरी ५० करोड ४ लाख पुर्याएको जनाएको छ ।संस्थाको ३९ जिल्लामा १४१ वटा शाखाहरु रहेका छन् । भने, संस्थामा २ लाख ५२ हजार ११४ सदस्य संख्या पुगेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्याकारी अधिकृत आशनारायण चौधरीले संस्थाको प्रगती विवरण साधारण सभालाई जानकारी गराउँदै संस्थाले लिएको लक्ष्यलाई शाखा, इलाका र क्षेत्रिय कार्यालयले मेहनत काम गरेर पुरा गर्नुपर्ने बताए । उनले आगामी दिनमा संस्था विस्तार गर्दै जाने जानकारी गराए ।

कार्यक्रममा बोल्दै पूर्वसञ्चालक सत्यनारायण चौधरीले संस्थाले गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संस्थाको प्रशंशा गरे । भने, संस्थाका सञ्चालक सदस्य जगतजङ्ग जिसीले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्दै फरवार्डले गरिवी न्यूनिकरणमा टेवा पुर्याउँदै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवामुलक काम समेत गर्दै आइरहेको बताए ।

फरवार्ड माइक्रोफाइनान्सको प्रर्वद्धक संस्था ग्रामिण महिला उत्सुकता विकास मञ्चकी सचिब ललिता चौधरीले संस्थाले ग्रामिण महिलाहरुलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अगाडी बढाउन लिएको लक्ष्यलाई पुरा गर्न वित्तीय संस्थाले टेवा दिइरहेको तथा आगामी दिनमा पनि लक्ष्य पुरा गर्न सहयोग पुर्याउने अपेक्षा लिएको बताइन् ।संस्थाकी बरिष्ठ प्रबन्धक हिराकुमारी थन्दारले सञ्चालन गरेको कार्यक्रममा शेयर सदस्य, ग्राहक सदस्य, बैंक वित्तीय संस्थाका सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।