उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका– १ रमितेमा आइतबार राति तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरिएको छ ।
आइतबार राति करिब ९ बजे उर्लाबारी किशान चोक–रमिते सडकमा राखिएका तीन वटा स्काभेटरमा आगजनी गरिएको हो । आगजनीबाट करिब ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ठेकेदार कम्पनीको १ वटा र २ वटा भाडाका स्काभेटरमा तोडफोड गरी दाउरा लगाएर आगजनी गरेका छन् । आगजनीबाट तीन वटै स्काभेटरमा क्षति पुगेको छ । आइतबार राती नै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रहरी निरीक्षकको संयुक्त टोली घटना स्थलतर्फ गएपनि हिँड्दै जाँदा विहान ४ बजे मात्र पुगेको थियो । १०÷१२ जनाको समूहमा आएका ब्यक्तिहरुले आगलागी करिब २ घण्टा घटना स्थलमा विताएको स्थानीयबासीले बताएका छन् । तोडफोड र आगजनी गरेपछि स्थानीयबासीहरु राती नै घर छोडेका थिए । उनीहरु विहानमात्र त्यहाँ पुगे । डरत्रासको कारण राती घर छोडेर तल्लो गाउँमा शरणमा पुगेको स्थानीय हर्कमाया राईले बताइन् । स्थानीयबासीका अनुसार हवाई फायर र बम विष्फोटसमेत गरिएको थियो । त्यस्तै, सोही स्थानमा भेटिएको शंकास्पद वस्तुलाई पनि सोमबार आर्मीको टोलीले डिपोज गरेको छ । तर्साउनका लागि राखिएको सडकमै राखिएको शंकास्पद वस्तु वम नभई डर्मी भएको डिपोज टोलीले बताएको छ ।
मोरङ क्षेत्र नं. १ प्रदेश सांसदद्वय कुलप्रसाद साम्बा लिम्बू (कुशल), उपेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी मदन भूजेल, मोरङका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले सोमबार घटना स्थलको निरीक्षण गरेका छन् । घटना स्थलको निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद लिम्बूले विकास विरोधी समूहले स्काभेटरमा आगजनी गरेको भन्दै आक्रोश पोखे । उनले घटनामा विप्लब समूहको हात रहेको दाबी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरे । ठेकेदारलाई चन्दा माग्ने धम्काउने जस्ता हर्कत गर्ने जोकोही विकास विरोधी भएकाले उनीहरुलाई कानुन बमोजिन कार्वाही गर्न उनले माग गरे ।
अर्का प्रदेश सांसद घिमिरेले पनि घटनाको गम्भिर रुपमा अनुसन्धान गरी दोषीलाई कार्वाही र शान्ति सुरक्षाको ब्यवस्था गर्नु पर्नेमा जोड दिए । कसैको धम्कीको भरमा विकासका काम रोकिन नहुने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी मदन भूजेलले घटना स्थलको स्थलगत निरीक्षण पश्चात दाउरा लगाएर स्काभेटरमा आगजनी भएको बताए । घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान भइरहेको र दोषीलाई पक्राउ गरी कानुन बमोजिन कार्वाही गर्ने उनले बताए । शान्ति सुरक्षा दिन प्रशासन प्रतिवद्ध रहेको उनले बताए ।
मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने बताए । उजmे घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यले घटनाको भत्र्सना गर्दै विकास विरोधी गतिबिधि रोक्न आग्रह गरे । १ नम्बर प्रदेश सरकारको ५८ करोड बजेटमा सो सडक निर्माणका लागि शर्मा एण्ड भिमेश्वर जेभी कण्ड्रक्सनले ठेक्का लिएर काम अघि बढाएको थियो । ठेकेदार कम्पनीलाई केही समय अघि अज्ञात समूहले चन्दा मागेको थियो । सोही विषयमा आगजनी गरिएको हुन सक्ने बताइएको छ ।