विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा मंगलबार बुधनगरमा एकीकृत भन्सार जाँचचौकीको स्वीच अन गरेर उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँ र उनका समकक्षी मोदीले नयाँदिल्लीमा बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गरे।
सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । प्रधानमन्त्री ओलीले नेपालले भारतसँग विकासमा साझेदारी गर्न चाहेकामा पनि जोड दिए। उनले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।
भिडियो कन्फ्रेन्सबाटै भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गरे। नवनिर्मित चौकीले व्यापार, संस्कृति र शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने विश्वास दिलाए। प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गरे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुन र रोजगारी एवं व्यापारमा सुगमता आउने धारणा राखे ।

ICP_Nepal_and_India_1596738859
एकीकृत भन्सार जाँचचौकी आजदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुने छ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।
चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । भारत, अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा चौकी निर्माण गर्न ठेक्कामा लिएका थिए ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । विविध कारणले निर्माणमा ढिलो भए पनि अगामी केही दिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताए। उनले भन्सारका हरेक गतिविधि व्यवस्थित गर्न चौकीले मद्दत गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल,सांसद शिवकुमार मण्डल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र भारतीय राजदूतावासका प्रथम सचिव प्रजीतसिंह गुलाटीले जाँचचौकीले नेपाल र भारतको व्यापारमा सरलता ल्याउने विश्वास व्यक्त गरेका छन्।