इटहरीःआफ्नै एक अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्धामा उच्च अदालत विराटनगरमा बहस चलिरहेको बेला आज दिँउसो सिद्धबाबा भने भारत फरार भएका छन् । उनि बिहान ९ बजे आश्रमबाट निस्किएका थिए । उनी दिँउसो १ बजेको समयमा जोगवनी हुदै भारत फरार भएका हुन् । उच्च अदालत विराटनगरमा उनी विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेको छ ।
सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतकाअनुसार नाकाबाट उनलाई फर्काएर उनी भारत तर्फ लागेका हुन् । सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर निस्कीएका थिए ।
बिहीबार दिउँसो उनी विरुद्धको मुद्दा उच्च अदालत विराटनगरमा मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको बेला गिरी सुरक्षा गार्डलाई सिमावर्ती क्षेत्र रानीमा छाडेर भारत तर्फ लागेका हुन् । एकै छिन पारी पुगेर आउछु भनेका सिद्धबाबा भने सुरक्षा गार्डलाई फिर्ता पठाएर भारत तर्फ लागेको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।
उनका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली लागेको बताएका छन् । रामानन्द आचार्य सेवा पीठका अध्यक्ष गणेश विरहीले विराट नर्सिङहोमले रेफर गरेपछि उपचारका लागि दिल्ली गएको बताए । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।
बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा भने प्रहरी हिरासतमा बसेनन् ।
चतरामा महिलाहरुको धर्ना
सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कार प्रकरण मुद्धामा आज(बिहिबार) उच्च अदालत विराटनगरको १ नम्बर इजलासमा सुनुवाई चलिरहदा चतरामा भने स्थानीय महिलाहरुले प्रर्दशन गरेका छन् । स्थानीय महिला सञ्जालको अगुवाईमा चतरा स्थित वडा कार्यालय अगाडी धर्ना बसेर प्रर्दशन गरेका छन् । उनिहरुले दोषी कृष्णदासलाई कानूनी कार्वाही गर्नु पर्ने र पिडित महिलालाई न्याय दिलाउनु पर्ने माग गरेका छन् । महिलाहरुको समूहले प्ले कार्ड सहित बजार परिक्रममा पनि गरेका थिए ।