इटहरीः आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको मुद्धा खेपीरहेका सिद्धबाबा भनिन् कृष्णदास गिरीलाई थुनामा राखेर कानूनी कार्वाही गर्न उच्च अदालतले आदेश दिएको छ । बिहिबार(आज) उच्च अदालतको १ नम्बर बेन्चमा भएको बहसमा सो सुनुवाई भएको हो ।मुद्दा उच्च अदालत विराटनगरमा मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले सो सुनुवाई गरेको हो ।जिल्ला अदालत सुनसरीले गरेको धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालत विराटनगरले कृष्णदासलाई थुनामा राखेर आवश्यक कानूनी प्रकृया अगाडी बढाउन आदेश गरेको हो ।

नेपाल सरकारका तर्फबाट गोकुल निरौंला, उप न्याधिवक्ता पदम वस्ती, भगवती सुवेदी, सह न्याधिवक्ता राकुमार थापा बहस गरेका थिए । जाहेरवालको तर्फबाट नीजि वकिल डिल्ली दाहाल र कोषराज न्यौपानेले बहस गरेका थिए । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो । यसैबीच कृष्णदास भने आज भारत तर्फ फरार भएका छन् । उनलाई पक्राउ गरि ल्याउने बिषयमा पनि कानूनीबाटो खोजिने पिढित पक्षका तर्फबाट बहसमा संलग्न वकिलहरुले बताएका छन् ।
पिडितलाई न्याय दिलाउन र पिडक कृण्णदासलाई कडा कानूनी कार्वाहीका लागि महिला आधारशिला सुनसरी, ओरेक विराटनगर ,साथी फाउन्डेशन , प्रोत्साहान नेपाल ,महिला संजाल चतरा लगायतका महिला अधिकारवादी संघ संस्थाहरुले निरन्तर दवाव मूलक कार्यक्रम गर्दै आएका थिए ।