विराटनगरः‘हामीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरिसक्छौं । बजेट खर्चको प्रक्रियामा जान्छ अनि प्रदेशबाट समानीकरण अनुदान भन्दै बजेट आउँछ,’ मेयर रमेशकुमार जिमीले भने, ‘हाम्रो आधा बजेट सकिएपछि प्रदेशको योजना भन्दै चोरबाटो बाट योजना आउँछ हामीले कसरी समानीकरण अनुदानमा रकम लगाउने ।’ स्थानीय तहले बजेट नलगाएपछि ‘प्रदेशको बजेट फ्रिज गरिदियो’ भन्दै उल्टै हल्लाखल्ला गर्ने गरेको जिमीले गुनासो गरे ।
संखुवासभाको धर्मदेवी नगरपालिकाका नगरप्रमुख जिमीकै जस्तो गुनासो मोरङको कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतको छ । कामत भन्छन्, ‘मेरो पालिकाका अघिल्लो आर्थिक वर्षमात्रै पाँचवटा सडक बने तर यसमा पालिकाको भूमिका थिएन । कसले सडक बनायो भन्दै मैले नै बुझ्नु पर्ने अवस्था आयो ।’ प्रदेश सरकारका तर्फबाट स्थानीय तहमा जाने योजनाबारे जिमी र कामतको जस्तै प्रदेश १ धेरै पालिका प्रमुखहरुको गुनासो छ । त्यसमा पनि कांग्रेसका तर्फबाट निर्वाचित भएका पालिका प्रमुखहरुले झन्झटको सामाना गर्नु परेको बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा मत खसाल्न प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रमुखहरुको एउटै गुनासो थियो । प्रदेश र संघीय सरकारबाट आउने योजनाहरु ‘‘म्यानुपुलेट’’ भए । अरुण गाउँपालिकाका प्रमुख गजेन्द्र कार्कीले भने, ‘हामीले जुन योजनामा बजेट हालेका हुन्छौं त्यसमै प्रदेशले पनि त्यही योजनामा बजेट हाल्छ तर हामीमार्फत होइन वडाअध्यक्षले बनाएको योजनाअनुसार ।’ उनले कांग्रेसका प्रमुखहरुलाई ‘नेकपाको सरकारले कामै गर्न नसक्ने गरी कहिले झन्झट दिने प्रमुख प्रशासकीय अधिकृत पठाइदिने त कहिले उपभोक्ता समितिको नाममा काम गराउन आफ्ना कार्यकर्ता पोस्ने गरी बजेट दिने पठाउने गरेको’ आरोप लगाए ।
कांग्रेस संसदीय दल प्रदेश १ ले बुधबार साँझ पालिकाका प्रमुखहरुसंग स्थानीय तह र प्रदेशबीचको अन्तरसम्बन्ध विषयक अन्तरसंवादका अधिकांश सहभागी प्रमुख उपप्रमुखहरुले ‘माथि र बीचको सरकारले नियतबस तल काम गर्न नदिएको’ गुनासो पोखे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कांग्रेसले जितेका पालिकाहरुलाई प्रदेशले विशेष र समपुरक कुनै अनुदान नै नदिने गरेको बताउँदै भने, ‘विभिन्न अफ्ठेरो सिर्जना गरेर हामी असफल भयौं भन्ने सन्देश दिन दुईवटा सरकार नै लागि परेका छन् ।’
इलामको माङसेबुङ गाउँपालिकाका प्रमुख विकास र बजेटमा पनि प्रदेश र संघीय सरकारले सिन्डिकेट चलाएको आरोप लगाउँदै भने, ‘विभिन्न बाहना बनाएर हामीलाई असफल बनाउन माथि र बीचको सरकारबाटै असहयोग भएको छ । ठाडो पत्र नेकपाबाट जितेका वडाअध्यक्षलाई आउँछ हामीलाई थाहा हुँदैन ।’’ उनले परिस्थिति काबु बाहिर जान लागेको र आफूहरुले काम गर्नै नसकेको गुनासो गरे । यस विषयमा गम्भीर रुपमा छलफल चलाइनु पर्ने नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रममा सहभागी कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको चाहना अनुसार काम गर्न र जे जे भएको हो त्यो प्रस्ट बताएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘जसरी हुन्छ कांग्रेसले जितेका पालिकालाई कमजोर बनाउने रणनीति बनाएको देखिन्छ ।’ उनले सम्हालिएर काम गर्न पालिका प्रमुखहरुलाई सुझाव दिए । अर्का केन्द्रीय भीष्मराज आङदेम्बेले पालिकाले गर्ने कामलाई नै जनताले पार्टी नेतृत्वले गरेको काम भन्ने बुझ्ने भएकोले समस्याबाट नअत्तालिन सुझाव दिए ।
केन्द्रीय सदस्य डा. डिला संग्रौला र अमृत अर्यालले कांग्रेसलाई कमजोर बनाउन कम्युनिष्टहरु एकत्रीत भएर लागि परेको बताए । प्रदेश १ कांग्रेसका नेता राजीव कोइरालाले समस्यासंग जुध्न सुझाव दिए । प्रमुख सचेतक केदार कार्कीले आफ्नो सिद्धान्तबाट विचलति बन्न हुने बताए । कार्यक्रममा सहभागी उपप्रमुखहरुले कांग्रेसबाट निर्वाचित मेयरसंग पनि आफूहरुको विवाद र वैमनुष्यता हुने अवस्था आउन दिन नहुने सुझाएका थिए ।