इलामःएक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत अनुदानमा स्थापना भएको डेरी उद्योग अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
डेरी उद्योगको वेल्डिङ काम पुरा नहुँदा सञ्चालन हुन नसकेको हो । उद्योग वाणिज्य संघको कृषि उद्यम केन्द्रले कात्तिकमा दुईमहिना भित्र उद्योग सञ्चालन गर्ने पत्राचार गरेको थियो । कम्पनीले समेत मंसिर भित्रै उद्योग सञ्चालन थाल्ने प्रतिवद्धता जनाए पनि मेसिन वेल्डिङको काम नहुँदा उद्योग सञ्चालनमा आउन नसकेको हो । वेल्डिङको काम छ महिनादेखि रोकिएको छ । मेसिन जडान गर्ने प्राविधिक बुटवलमा छन् । बुटवलको काम सकेर इलामको मेसिन जडान पुरा गर्ने र परिक्षण उत्पादन शुरु गर्ने इलाम एग्रिटेक कम्पनीक प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए ।
डेरी उद्योगको भवन निर्माण र मेसिन खरिदका लागि सरकारले आव २०७३÷०७४ मा एक करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । २०७४ मा नै भवन निर्माण र मेसिन खरिद गरिएको भएपनि हालसम्म डेरी उद्योग सञ्चालनमा आउन सकेको छैन । सरकारको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत स्थानीयको लगानी गर्नुपर्ने थियो । स्थानीयले इलाम एग्रिटेक प्रालि नामको कम्पनी स्थापना गरेर लगानी गरेका छन् । कम्पनीमा २४ जनाको शेयर छ ।
कम्पनीले एक करोड १७ लाख ५७ हजार दुईसय रुपैयाँ लगानी गरेको छ । कम्पनी मार्फत स्थानीयको लगानीबाट इलाम नगरपालिका–५ मा १५ रोपनी जग्गा खरिद गरिएको छ । डेरी उद्योगका लागि पाँच रोपनी जग्गा पर्याप्त हुनेभएपनि अन्य उद्योगका लागि भन्दै १५ रोपनी जग्गा खरिद गरिएको हो । उद्योगमा सौचालय, कम्पाउण्ड वाल, ट्रान्सफर्मर खरिद विद्युत जडान, खानेपानी जडान, पार्किङ, भवनमा पार्टेसन, टायल लगाउने काममा अरु ३० लाख रुपैयाँ भन्दा बढि थप लगानी भइसकेको कम्पनीका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए । डेरी स्थापनामा खर्च भएको ४८ लाख ८८ हजार पाँचसय रुपैयाँ भुक्तानी दिनै बाँकी रहेको उनले जानकारी दिए । अरु रकम व्यवस्थापन गर्नको लागि वैंकमा ऋणलिने प्रक्रिया अघि बढाएको चापागाईं वताउँछन् । दैनिक तीन हजार पाँच सय लिटर दूध प्रशोधन गर्ने क्षमता रहेका डोरीबाट दूध, दहि, पनिर, ध्यू, छुर्पी उत्पादन हुन्छ ।