इटहरीः प्रहरी हिरासतमा बस्नु पर्ने डरले विरामीको नाटक गरि अस्पताल भर्ना भएका आफ्नै अनुयायी एक महिला बलात्कार गरेको मुद्धामा भारत फरार भएका कृष्णबहादुर गिरी(कृष्णदास)लाई अब तीन जना सरकारकारी डाक्टरको समितिले सिफारिस गरेपछि मात्र अस्पताल बस्न पाउने आदेश उच्च अदालत विराटनगरले दिएको छ । अनुयायी महिलाले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता गर्नसाथ कृष्णदास मटु र मृगौलाको सिकिस्त बिरामीको नाटक गरेर हिरासत बस्नु पर्ने पुरै समय विराट नरसिंह होमको भीआइपी कोठामा बिताएका थिए । सो बिषयलाई प्रमाण सहित पिडित महिलाको तर्फबाट उच्च अदालतमा बहस गर्ने अधिवक्ताहरुले गम्भिर रुपमा उठाएपछि सोको सुनुवाई गर्दै उच्च अदालतले सो निर्दैशन दिएको हो ।
कानून व्यवसायी कोषराज न्यौपाने, डिल्ली दाहाल र सुनसरी जिल्ला न्यायाधीवक्ता गोकुलप्रसाद निरौलाले कृष्णदासलाई कारागारमै राखेर पूर्पक्ष गरिनुपर्ने र बिरामी भएर अस्पताल बस्नुपरेमा तीन जना सरकारी चिकित्सकको समितिले स्वीकृत दिनुपर्ने माग गरेका थिए । उच्च अदालतले सोही मागअनुसार अभियुक्त कृष्णदासलाई कारागारमै राखेर पूर्पक्ष गर्न र ७२ घण्टाभन्दा बढी अस्पताल बस्नुपरे तीन जना सरकारी चिकित्सक समितिको स्वीकृति लिन आदेश गरेको थियो ।
तीन लाख धरौटीमा पूर्पक्षका लागि थुनामुक्त गर्न सुनसरी जिल्ला अदालत गरेको आदेशलाई उल्टाउँदै ९ माघमा उच्च अदालत विराटनगरले अभियुक्त कृष्णदासलाई थुनामै राखेर पूर्पक्ष गनुपर्नेसहित ७२ घण्टाभन्दा बढी अस्पताल बस्नुपरे तीन जना सरकारी चिकित्सकको समितिबाट अनुमति लिनेपर्ने आदेश गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासमा पीडित पक्षका कानून व्यवसायीहरू, सरकारी वकिलले हिरासतको बसाई छल्न कृष्णदास निजी अस्पतालमा नक्कली सिकिस्त बिरामी बनेर बसेको र झुठो कागजात बनाएर अदालतलाई पनि गुमराहमा राख्न सफल भएको तर्क गरेका थिए ।
कारागारलाई गरिएको आदेशमा भनिएको छ, – प्रतिवादीले उपचारको अधिकारबाट बञ्चित हुन नपरोस् र थुनामा बस्नुपर्ने अवस्थालाई छल्नका लागि नक्कली बिरामी बनेर अस्पताल बस्नुपर्ने अवस्था नआओस् भन्नका लागि ७२ घण्टाभन्दा बढी अस्पताल बस्नुपरे तीन सरकारी चिकित्सकको समितिले सिफारिस गरे मात्र सुविधा प्रदान गर्नु ।
आफ्नै अनुयायी महिलाले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ चतरास्थित आश्रममा बोलाएर आफूविरुद्ध ४ कार्तिक २०७६ मा बलात्कार गरेको किटानी जाहेरी दिएपछि कसुरबाट जोगिन कृष्णदास १२ पुसमा सुटुक्क विराटनगर मुनालपथस्थित विराट नर्सिङहोममा मुटु, हाइप्रेसर र मृगौलाको सिकिस्त बिरामी बनेर भर्ना भएका थिए ।
जबकि उनी सिकिस्त बिरामी थिएनन् बरु गोप्य भेटघाटमा व्यस्त भए । अस्पतालको सुविधासम्पन्न डिलक्स क्याबिनमा बसेका उनले औषधि पनि मात्र १२ हजार जतिको देखाउनका लागि मात्र प्रयोग गरेका थिए । उनले प्रयोग गरेका ओषधीहरू छाला रोग लुतो र दादमा प्रयोग हुने खालका धेरै थिए ।
प्रहरीले पक्राउ गर्ने डरले आईसियुमा भर्ना भएका उनलाई अस्पतालले दुई दिनमै बाहिर निकालेको थियो । उनले प्रयोग गरेका औषधिहरू पनि धेरै जसो छालामा लुतो र दाद आउँदा प्रयोग हुने खालका थिए । नक्कली बिरामी बनेर अस्पतालमा बसेका बाबालाई चर्को दबाबपछि सुनसरी प्रहरीले अस्पतालबाटै १६ मंसिरमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।
अदालतले उनलाई सिकिस्त बिरामी भन्दै अस्पतालमै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको थियो । त्यसपछि कृणदास भीआईपी अभियुक्त बनेर आरामले अस्पतालको डिलक्स क्याबिनमा बस्न सफल भएका थिए । अरुबेला आफ्ना सहयोगीहरूसँग भेटघाट गर्ने उनी अदालत आउँदाजाँदा भने अक्सिजनको पाइप नाकमा लगाएर सिकिस्त बिरामी भएको नाटक गर्थे ।
सिकिस्त बिरामी भएको भन्दै उनले प्रहरीलाई बयान दिन आनाकानी गरेपछि सुनसरी प्रहरीले बाबालाई पाँच पटकसम्म अदालतबाट म्याद थप गराएको थियो । चलाख कृष्णदास अनुसन्धानको अवधिभर एक दिन पनि प्रहरी हिरासतमा बसेनन् । १४ पुसमा जिल्ला अदालत सुनसरीबाट ३ लाख धरौटीमा थुनामुक्त्त भएपछि कृष्णदास तुरुन्त चतरास्थित आफ्नो आश्रम फर्केका थिए ।
तर पूर्पक्षका लागि थुनामा राख्नु पर्ने प्रशस्त आधार प्रमाणहरू भएपनि धरौटीमा छाडेको भन्दै रितपूर्वकको आदेश माग गर्दै सुनसरी सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा रितपूर्वको आदेशका लागि निवेदन गरेको थियो । र उच्च अदालतमा ९ माघमा भएको सुनवाईपछि मुुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त ईजलासले अभियुक्त्त कृष्णदासलाई थुनामै राखेर पूर्पक्ष गर्न अन्तिम आदेश गरेको थियो ।
बिचौलियाहरू लगाएर न्यायप्रभावमा पार्न असफल भएपछि आफ्नो पक्षमा अन्तिम आदेश हुँदैन भन्ने बुझेर कृष्णदास उच्च अदालतमा सुनवाई भइरहेको दिन सुटुक्क भारत भागेका थिए । जिल्लाको आदेशबाट धरौटीमा थुनामुक्त भएका कृष्णदास उच्चको आदेशबाट पक्राउ पर्ने र हिरासतमै बस्नुपर्ने भयले योजना बनाएरै फरार भएका थिए ।
सिद्धबाबा भनाउने कृष्णदासलाई तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने सुनसरी जिल्ला अदालतको आदेश उल्टाउने आधारहरू प्रशस्त पाइएको छ । उच्च अदालत विराटनगरले ९ माघमा गरेको अन्तिम आदेशअनुसार तत्काल उपलव्ध प्रमाण र अवस्थालाई विचार गर्दा कसुरदार होइनन भन्न नसकिने भएकोले कृष्दासलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने जिल्लाको आदेश बेरितको भएको ठहर गरिएको छ ।
आदेशअनुसार पीडित आफैँले किटानी जाहेरी दिनु, गोडा माड्न लगाउँदा कृष्णदासको घुँडाको दाहिने साइडमा दाग थियो भन्ने पीडितको बयान सत्य हुनु, मौकामा कागज गर्ने साक्षीहरूले पनि पीडित महिला गुरुदेवबाट बलात्कार भएको भनेर तुरुन्त आफूहरूलाई भनेको हो भनेर बयान दिनु, आनन्द प्रिया भन्ने अनुयायीले पनि दिदी तपाईं पनि मजस्तै पीडित हो, लड्नुपर्छ भनि पीडितलाई म्यासेज पठाएको कुरा सत्य हुनु, घटनाको दिन कृष्णदासले मैले मौका दिँदा पनि तिमी किन चुप भनेर महिलालाई म्यासेज पठाउनु, घटनाबारे मोबाइलमा गफ हुँदा कृष्णदासले मबाट गल्ती भयो माफ पाउँ फेरि गल्ति भए म लिङ्ग नै काटेर फ्याँकिदिन्छु भनेर भनेको परीक्षण सत्य हुनु आदि आधारहरू मानिएको छ ।
यसैगरी अभियुत्त कृष्णदासले सुरुमा ईन्कारी बयान दिनु तर पछि पीडितसँग माफी मागेको कुरा स्वीकार गर्नु बयानमा म मोबाइल बोक्दिँन भन्नु तर पीडितसँग कुरा गरेको मोबाइल आश्रमको हो होइन भन्दा होइन भन्न नसक्नु र धर्मगुरुबाट पीडितबीच पर्नसक्ने प्रलोभन र डरत्रासको अवस्था आउन नदिन प्रतिवादी कृष्णदासलाई मुलुकी फौजदारी संहिता २०७४ को दाफा ६७ को (ख) बमोजिम पूर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।