इटहरीःउच्च अदालत विराटनगरबाट पूर्पक्षका लागि थुनामा राख्न अन्तिम आदेश भएकै दिन फरार भएका सिद्धबाबा भनिने कृष्णदास गिरीको खोजतलासमा प्रहरी जुटेको छ ।
कार्तिक ४ गते सुनसरीको चतरास्थित आश्रमकै एक महिलालाई जवरजस्ती करणीको जघन्य अभियोग लागेका गिरी गत ९ माघमा नेपाल भारत सिमाको जोगवनी नाकाबाट भारत फरार भएका थिए । उच्चबाट आफ्नो पक्षमा अन्तिम आदेश नभएपछि उनि नेपाल सरकारले उपलब्ध गराएको नेपाल प्रहरीको पिएसओ (हबल्दार) लाई जोगवनी नाकाबाट झुक्याएर भारत तर्फ फरार भएका थिए ।
गिरी अब सम्मानित अदालतको ‘फरार अभियुक्त’ को सूचीमा परेका छन् । अदालतले पनि गिरीलाई खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई आदेश दिएको छ । गिरीको खोजतलासको लागि सुनसरी प्रहरीको ४ सदस्य टोली परिचालन भइसकेको छ । यस्तै अदालतबाट फरार भएका ‘हाई प्रोफाइल’ अभियुक्तको खोजीमा परिचालन हुने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको ‘पिल्लर ५’ को बिशेष टोली समेत परिचालन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पहिलो चरणमा गिरी बस्ने स्थानहरुमा प्रहरीले खोजतलासको औपचारिक काम गर्ने छ । त्यसपछि उनि फरार भएको स्थानदेखि सम्भाबित ठाँउहरुमा प्रहरीको टोली खोजलतासमा खटिने छन् । प्रहरीको टोली भारत तर्फको काउन्टर पार्टस (भारतिय सुरक्षाकर्मी) सँगको समन्वयमा भारत तर्फ खोजतलासमा लागि गएको बताइएको छ । ब्यूरो टोलीपनि गोप्य रुपमा सम्भाबित गिरी पुग्ने स्थानहरुमा खोजतलासको लागि खटिएको प्रहरी स्रोतको दाबी छ । सुनसरी प्रहरीले पनि गिरीको हुलिया सहितको विवरण सम्पूर्ण प्रहरी कार्यालयलाई पठाउने तयारी गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीको पिएसओ (हबल्दार) मुकेश साहलाई पनि अनुसन्धानको घेरामा राखेको छ । साथमै हँुदा गिरी कसरी फरार भए भन्ने बिषयमा प्रहरीले साहलाई अनुसन्धान गरिरहेको छ । चतराबाट जोगवनी नाका सम्म पुगेको ग १ च ८१५७ नम्बरको पजेरो गाडी र चालक पनि अनुसन्धानमा परेका छन् ।
गिरीलाई भगाउनमा सहयोग पुराउने उनका अनुयायीहरूको बिषयमा पनि सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ । जोगवनी नाकाबाट फरार हुदाको सिसिटिभी फुटेजको ‘क्लिप’ समेत प्रहरीले लिएको छ । सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले गिरीको खोजतलास भइरहेको जानकारी दिए ।
पूर्वयोजना अनुसार गिरी फरार
उच्च अदालत बिराटनगरमा मुद्दाको पेशी रहेको दिन बिहान उपचारको बहाना बनाएर कृष्णदास सुनसरीको बराहक्षेत्र नगरपालिका–२ चतराधाम स्थित आफ्नो आश्रमबाट बिहान ९ बजे विराटनगर हिँडेका थिए ।
विराटनगर आएर उनी कुनै अस्पतालमा भर्ना भएनन् बरु उनले आफ्ना सहयोगीहरूसँग गोप्य स्थानमा आफ्नो योजनाबारे छलफल गरेका थिए । उनको योजना भारत जाने र ‘हाइड’ हुने अनि उच्चबाट आफ्नो पक्षमा अन्तिम आदेश भए फर्कने नत्र उपचारको बहानामा अझै टाढा भाग्ने थियो ।
अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा पूर्पक्षका लागि थुनामुक्त गराउन १४ पुसमा गरेको आदेश उच्चले बदर गरेर पुनः थुनामै राख्न अन्तिम आदेश गरेपछि उनी नेपाल फर्केनन् । अब उनी कि त भारतमै लुकेर बस्नेछन् कि त त उपचारमा गएको बहाना बनाएर सर्वोच्चमा उच्चको आदेश बेरितको भन्दै रितपूर्वकको अर्को आदेश गराउनका लागि अनुकूल समय पारेर सुटुक्क उपस्थित हुनेछन् । अब उनको योजना जिल्ला अदालतमा बकलपत्र गराउँदा साक्षीहरुलाई खरिद गर्ने, धम्क्याउने देखी अन्य अनेक बहाना गरेर अदालतलाइ पार्ने सम्मको हुनसक्नेछ ।
घटना छानबिन गर्न अधिकारकर्मीहरूको माग
अदालतको आदेश भएमा फौजदारी अभियोग लागेका व्यक्तिले देश छाडेर विदेश जान पाउँदैन । देश छाड्नै परे गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ । तर सिद्धबाबाको हकमा त्यस्तो आदेश नभएकोले उनले विदेश जानै नपाउने चाहिँ होइन ।
कथित सिद्धबाबा कृष्णदासबाट पीडित महिलाको पक्षमा लागिरहेकी सुनसरीकी महिला अधिकारकर्मी शुशीला उप्रेती पनि बाबालाई योजनाअनुसार मिलेमतो मै भारत भगाइएको बताउँछिन् । मुद्दा दर्ताका क्रममा पनि प्रहरीले गरेको व्यवहारले शंका उब्जाएकोले बाबा भारत भागेको बारे छानबिन हुनुपर्छ । उनी भन्छिन्, ‘बाबालाई संरक्षण र सल्लाह दिनेहरु को–को थिए ? तारकब्रम्ह महायज्ञको करोडौं आम्दानी कहाँ गयो ? आदिबारे पनि खोजबिन हुनुपर्छ । ’
महिला अधिकारकर्मी शान्ति गजमेर सिद्धबाबालाई जोगाउन राज्यपक्ष नै लागेको दाबी गर्छिन् । यसैले उच्च अदालतको आदेशअघि नै बाबालाई भारत भगाइएको उनको आरोप छ । उनले भनिन्, ‘जोगवनीसम्म प्रहरीलाई साथमै लग्नु र दिउँसै सबैका अगाडि नाकाबाट बाहिरिनुले यो पृष्टि हुदैन र ?’