इटहरीः दुईबर्ष अघि नेकपा सुनसरीकी नेतृ भगवती चौधरीलाई समेत ‘झुक्याएर’ बडीगार्ड बस्ने नेपाली सेनाका नक्कली सेकेण्ड ल्याप्टेन शुभमचन्द ठकुरी पूंन बिराटनगर बिमानस्थलबाट पक्राउ परेका छन् ।
बिराटनगर बिमानस्थल प्रहरीले उनलाई माघ १ गते फेरी नेपाली सेनाको प्राड उ.से.हुँ को नक्कली परिचय पत्र सहित पक्राउ गरेको हो । ठकुरी नक्कली परिचय पत्र देखाउदै बिमान अवतरण गर्ने धावन मार्गमा प्रबेश गरेपछि प्रहरीले उनलाई रोकेको थियो । प्रहरीलाई नै उल्टै धम्काउदै ठकुरीले आफु नेपाली सेनाको ‘कानून महाशाखा’ को सेकेण्ड ल्याप्टेन हो भनेका थिए । तर उनको गतिबिधि शंकाष्पद लागेपछि परिचय पत्र ‘भेरिफाई’ गर्दा उनको परिचय पत्र नक्कली भएको भेटिएको थियो ।
उनले बोकेको पत्रमा शुभम विक्रम चन्द नाम लेखिएको छ भने ४७१५ नम्बरको परिचय पत्र संख्या छ । ठकुरीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को दफा २७६ र २७७ बमोजिम सरकारी छाप, कागजात दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जनाइएको छ ।
सुनसरी दुहबी ३ घर भएका ठकुरीलाई २०७४ सालमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीको चुनाव प्रचारका क्रममा पक्राउ गरी १ लाख ५० हजार धरौटीमा छुटेका उनी पुनः पक्राउ परेका हुन् । ठकुरी विराटनगरबाट यती एयरको जहाजबाट काठमाडौं जान विमानस्थल गएका बेला सेनाको सुरक्षा पोष्टमा पुगेका थिए । आधा चिया पिएरै शौचालय जाने भन्दै हिंडेका उनी नफर्किएपछि खोजी भएको थियो । उनले विमानस्थलमा टिकट जाँच गर्ने ठाउँमा सेनाको नक्कली परिचयपत्र देखाएका थिए ।
सेनाको सोधपुछका क्रममा ठकुरीले आफू उपरथी ईश्वर हमालको छोरीपट्टिको नाति बताएका थिए । उनले आफू १ नम्बर बाहिनी अड्डा काठमाडौंमा कार्यरत रही बिदामा रहेको बताएका थिए ।