विराटनगरःमोरङमा प्रेमीसंग लहलहैमा लागेर श्रीमतीले आफ्नै लोग्नेको हत्या गरेकी छन् ।
माघ ६ गते बिहान अन्दाजी ५ बजेको समयमा मोरङ कटहरी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४५ को विकास सरदारको शव मोरङकै ग्रामथान गाउँपालिका वडा नं. ३ को ढङटोलीस्थित सडक छेउमा रहेको खाल्डोमा फेला परेको थियो । तर, प्रहरी अनुसन्धान अघि बढाउँदै लैजाँदा सरदरलाई कर्तव्य गरी हत्या गरेको प्रारम्भिक निश्कर्षमा प्रहरी पुगेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर गई बुझ्दा मृतक विकास सरदार पानी डुबी मृत्यू नभई निजकै श्रीमती दयावती सरदार, कटहरी गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को बोस भन्ने बद्री सरदारको मिलेमतोमा माघ ५ गते राती हत्या भएको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति अन्दाजी ८ बजेको समयमा विकाश सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदार गई निजको घरमा रक्सी समेत बेच्ने गरेको हँुदा रक्सी किनेर खाएका थिए ।
‘निज विकास सरदारलाई गाँउमा तास खेल्न जाउँ’ भनि ललाई फकाई घटनास्थल लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको मोरङ प्रहरी कार्यालय प्रमुख एसपी विश्व अधिकारीले बताएका छन् ।
‘‘दयावती सरदार र बोस भन्ने बद्री सरदारको वीच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर निजको हत्या गरेको’’ प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।