लहानःसिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त्यसको प्रचारप्रसार हुन नसक्दा अझै उपभोक्ता ठगिँदैै आएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाद्वारा लहानमा आयोजित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले निरन्तरको बजार अनुगमनले बजारमा केही सकारात्मक सुधार देखिए पनि ऐन कानूनको प्रचारप्रसार हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले बजारमा हुने अनुगमनबाट सामानमा मिसावट गर्ने, कम तौल बेच्ने र गुणस्तरहीन सामान बिक्री गर्ने व्यापारी केही हदसम्म डराए पनि ऐनकानूनबारे बुझ्न नसक्दा अझै अपेक्षित सुधार आउन नसकेको बताए। उनले भने , “ बजारमा हुने ठगी रोक्न तथा गुणस्तरहीन सामानको बिक्रीमा नियन्त्रण गर्न थुप्रै ऐनकानून बनाइए पनि ऐनकानूनमा भएको दण्डसजायबारे व्यापारी अनभिज्ञ रहेकाले अझै उपभोक्ता ठगिने गरेका छन् ।” सिरहा जिल्ला उद्योग वाणिज्य सङ्घ लहानका अध्यक्ष अशोकलाल अमात्यले अहिलेसम्म भएका बजार अनुगमन केवल सिक्ने र सिकाउने भएकाले अब ऐन कानूनको बारेमा जानकारी गराउँदै गलत गर्नेलाई कानूनी दायरा ल्याउनुपर्नेमा जोड दिए ।

“उपभोग्य सामानमा मिसावट गर्ने कार्य गर्नु गलत हो भन्ने कुरा सबै व्यापारीले बुझेका छन्”, उनले भने, “तर त्यो मिसावट गरे पनि कानूनीरुपमा के दण्ड सजाय हुन्छ भने धेरैले बुझेका छैनन्, त्यसैले अनुगमन हँुदा मात्रै व्यापारी डराउने र त्यसपछि पुनः मिसावट गर्ने प्रवृत्ति देखिएको छ ।” अब कानूनी दण्ड र सजायबारे समेत व्यापारीलाई सचेत बनाउनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नयन्त्रक डिभिजन कार्यालय राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले सरसफाइ, स्वच्छ खानेपानीको प्रयोग र उपभोग्य सामानको उत्पादन मिति र गुज्रिने मितिलगायत विषयमा उपभोक्ता सचेत भए धेरै हदसम्म खानेकुरा स्वच्छ हुन सक्ने बताउँद दूध, दही, खानेपानीलगायत खाद्य पदार्थमा शुद्धता र स्वच्छता ल्याउन निरन्तर प्रयास भइरहेको बताए । घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले उद्योग व्यवसाय सञ्चालन गर्न बनेका ऐन कानून र निर्देशिकाको बारेमा सहजीकरण गर्दै बजारमा हुने ठगी र अवैध व्यापार रोक्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
supath_mulya_pasal_1