उर्लाबारी: मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा भएको दुर्घटनामा अठार महिनाकि बालिकाको मृत्यु भएको छ ।

सोमबार बिहान दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसमा बिपरीत दिशाबाट आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकल ठोक्किँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका ६ का २६ बर्षीय डेकेस बिक, उनको श्रीमती २० बर्षीया सिर्जना बिक, उनकै सासु ४३ बर्षीय कल्पना ठटाल र अठार महिनाकी छोरी प्रतिक बिकलाई उपचारको लागि बिराट नर्सिङ होममा लगिएको थियो ।

सोही अस्पतालमा अठार महिनाकि बालिका प्रतिक वि.क.को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई नियन्त्रणमा लिइएको प्रदेश नम्बर एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।