विराटनगरः मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगमा एक हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघको समन्वयमा उनिहरुलाई तालिम दिइ रोजगारी दिइने भएको हो । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम प्रदान गरिएको जनाइएको छ ।
मंगलबार विराटनगरमा एक कार्यक्रमकाबीच तालिम दिएर दक्ष बनाई रोजगार उपलब्ध गराउन सम्झौतामा हस्ताक्षर भएको छ । उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गरेका हुन ।
कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने महासंघका कार्यकारी निर्देशक भण्डारीले बताए ।सहभागीहरुलाई कार्यस्थलमै ६ महिना तालिम दिइ दक्ष बनाएर तालिम दिने उद्योगमै रोजारी दिइने सम्झौतामा उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रम तथा औद्योगिक प्रशिक्षण तालिम सञ्चालनार्थ अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालीहरु माग अनुसारको दक्ष जनशक्ति नहुँदा नेपालीहरु रोजगारीको लागि विदेश जाने र विदेशीहरु रोजगारीको लागि नेपाल आउने स्थिति रहेको बताए ।
उद्योगमै तालिम दिँदा उद्योगलाई चाहिएको दक्ष कामदार उपलब्ध हुनुका साथै परिवारसँगै बसेर स्वदेशमै रोजगारी पाउने वातावरण हुने उनको भनाइ छ । श्रेष्ठले प्रदेश १ का प्लाइ, छड र सिमेण्ट उद्योगमा दक्ष कामदारको अभाव रहेको बताए । यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेतले निजी क्षेत्रले दक्ष कामदार पाउन नसकेको बताए । भने,‘‘तालिमले दक्ष कामदार उत्पादन भइ रोजगारीको अवसर पाउने अपेक्षा गरिएको छ ।’’ उनले स्वदेशमै रोजगार पाउने वातावरण भए सम्वृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारा पनि सार्थक बताए ।
उद्योगको माग अनुसारको दक्षता नहुँदा २०÷२५ हजार रुपैयाँको लागि विदेश जानु पर्ने बाध्यता रहेको बस्नेतको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहराले रोजगारीको सृजना गर्नु नै अहिलेको आवश्यक्ता रहेको बताउँदै भने,‘‘कृषिमा आश्रित अर्थतन्त्रलाई उद्योगमा आश्रित बनाउन दक्ष जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्छ ।’’ दक्ष जनशक्ति अभावले उद्योगहरु समस्यामा रहेको उनले बताए ।
ग्रामीण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजनाका प्रदेश १ संयोजक राकेशकुमार झाले उद्यमशिलता वृद्धि तथा रोजगारीको सृजना गर्न आयोजनाले उद्योग वाणिज्य महासंंघ र हेल्भेटाससँग सहकार्य गरिरहेको बताए । उनले नेपालको उद्योगमा माथिल्लो तहमा दक्ष विदेशी कामदार राख्नु पर्ने अवस्था रहेको भन्दै त्यो अवस्था अन्त्य गर्न यस्ता तालिमहरु उपयोगी हुने बताए ।
हेल्भेटासका टिम लिडर बालमुकुन्द न्यौपानेले कार्यस्थलमै रोजगारी दिने चलन अहिले विश्वभर चलेको भन्दै यसले उद्योगले खोजेको कामदार उत्पादनमा सहयोग पुग्ने बताए । विराटनगरका रघुपति जुटमिल, स्वस्तिक जुट मिल, दुहवीको अरिहन्त फाइवर्स, इटहरीका पल्स फेसन सलुसन, रिलायन्स स्पिनिङ र सगरमाथा गारमेण्टमा १ हजार ४० जनालाई तालिम सहित रोजगारी दिइने भएको हो । तालिमको मंगलबारदेखि नै उद्घाटन गरिएको छ ।