भद्रपुरः नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्याउने काम वर्षौदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेन्टहरु अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेन्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् । नेटवर्किङका नाममा यस्तै ठूलो मानव तस्करीको जालो अहिले मेची वारिपारि सक्रिय रहेको फेला परेको छ ।

दोलखाका सुदिपबाबु पोखरेलले गाउँमा रहेका १७ र २१ वर्षका दुईजना फेसबुकका केटीसाथीलाई जागिर लगाइदिने प्रलोभनमा पारेर झापा ल्याए । यही माघ १५ गते काँकडभिट्टा नाका पार गर्न लाग्दा प्रहरीले गरेको सोधपुछमा उनीहरुलाई ओरियन्स नामक नेटवर्किङ कम्पनीमा भारत लगिएको खुलासा भयो ।

मानव बेचविखन अभियोगमा पक्राउ परी हाल अनुसन्धानका लागि काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतमा थुनिएका पोखरेल ओरियन्सका एजेन्ट हुन् । प्रहरीले उद्धार गरिएका दुबै चेलीलाई अभिभावक बोलाएर जिम्मा लगाएको छ ।

माघ २१ गते नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकामा शङ्कास्पद अवस्थामा डुलिरहेका ३ जना किशोरी र एक युवालाई ‘साना हात भारत’ नामक संस्थाका निगरानीकर्ताहरुले सोधपुछ गरे । पानीटङ्कीस्थित एक घरमा सञ्चालित होस्टलमा बस्दै आएका तीनजना किशोरी पनि ओरियन्स नेटवर्किङ कम्पनीको तालिम लिनका लागि काठमाडौंबाट फकाएर ल्याइएका रहेछन् ।

मानव बेचविखनविरुद्ध सीमा क्षेत्रमा निगरानी गर्दै आएको ‘साना हात भारत’ नामक संस्थाले सोही दिन चारै जनालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा जिम्मा लगाइदियो । नेपाल प्रहरीको महिला सेलले सोधपुछ गर्दा उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १५ घर भई काठमाडौंको मान्द्रो रेस्टुरेन्टमा काम गरिरहेका तीनैजना किशोरीलाई ओरियन्सका एजेन्ट काम गर्ने मोरङको बिराटचोक निवासी मोहम्मद आलम मियाले फेसबुकको सम्पर्कबाट पालैपालो फकाएर भारत पुर्याएको तथ्य फेला पर्यो ।

नवलपरासीको मध्यबिन्दु–१५ घर भएका २४ वर्षीय पुनमबहादुर कुमालले झापाको हस्पिटलमा जागिर खुलेको छ भनेर गाउँमा रहेकी २१ वर्षीया आफ्नै भाञ्जीलाई फकाएर काँकडभिट्टा बोलाए । माघ २१ गते विहान साना हात नेपालका निगरानीकर्ताले ओरियन्स कम्पनीको तालिममा भारत लैजान लागेको तथ्य पत्ता लगाएपछि पुनमबहादुरलाई प्रहरीको जिम्मा लगाइदिएका छन् भने युवतीलाई उद्धार गरेर पुनस्र्थापना गृहमा राखेका छन् । उद्धार गरिएकी युवतीलाई जिम्मा बुझेर लैजानका लागि प्रहरीले युवतीकी आमालाई बोलाएको छ ।

झापाको काँकडभिट्टा नाकाबाट प्रहरी र गैरसरकारी निगरानीकर्ताहरुको आँखा छलेर ६ महिनायता भारतको ओरियन्स नेटवर्किङ कम्पनीका एजेन्टहरुले जागिर लगाइदिने बहानामा नेपालका देहाती किशोरकिशोरीहरुलाई भारत लैजाने र काँकडभिट्टाबाट ५२ किलोमिटर पूर्व भारतको सिलिगुढी सहरका अबैध होस्टेलमा बन्धक बनाएर राख्ने क्रम ह्वात्तै बढेको पाइएको छ । काँकडभिट्टा नाकाबाट दिनहुँ नेपाली युवतीहरुलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइने गरेको प्रहरीको भनाई छ । विगत दुई वर्षदेखि ओरियन्सले मान्छे लैजाने गरे तापनि अहिले गतिविधि अत्याधिक बढेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल ओरियन्स नेटवर्किङ कम्पनीमा काम दिलाउने प्रलोभनमा नेपाली सोझासिधा युवतीलाई भारत लगेर अबैध होस्टेलमा बन्धक बनाएर राख्ने बढ्दो क्रमले उनीहरु मानव बेचविखनको जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरे । उनले १५ दिनमा ओरियन्सका लागि भारत जान लागेका ४५ जना युवतीलाई नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिए।

माघ लागेयता नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी भारतको सिलिगुढी लैजाने कार्यमा संलग्न दोलखाका २१ वर्षीय सुदिपबाबु पोखरेललाई पक्राउ गरी काँकडभिट्टा इप्रकाले मानव बेचबिखन अभियोगमा मुद्दा चलाएको छ भने उदयपुरकी मीना बस्नेत र महोत्तरीका कमलेश सासुरीसहित ४ जनालाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको छ । बस्नेत माघ १५ गते पक्राउ परेकी हुन् भने सासुरीलाई माघ १८ गते पक्राउ गरिएको थियो ।

ओरियन्सको ठगी धन्धाः
नेपाली युवायुवतीलाई फँसाइरहेको ओरियन्स भारतमा दर्ता रहेको नेटवर्किङ धन्धा हो । नेपालमा नेटवर्किङ धन्धा प्रतिबन्धित भएकाले यसका कारोवारीले नेपालभित्र लुकीलुकी गतिविधि गरेका हुन्छन् ।

पश्चिम बङ्गालको सिलिगुढीस्थित सिटी सेन्टरमा ओरियन्स ग्लोबल मार्केटिङ प्रालिको व्यानरमा कार्यालय छ । कार्यालयमा सुमन नाम बताउने प्रमुख कार्यकारी अधिकृत र पिन्टु लाल नाम बताउने मार्केटिङ प्रमुख रहन्छन् । तर यिनीहरुसँग नेपालबाट गएका युवायुवतीको हत्तपत्त भेट हुँदैन । तल्लो तहका व्यक्तिहरु विभिन्न पदवी देखाउँदै नेपालीहरुसँग कुराकानी र कारोवार गर्छन् ।

यो कम्पनीले प्रवेश गर्न रु। एक हजार सुरुमै तिराउँछ । तीन दिने तालिम भनेर रु। ७ हजार असुल्छ । तालिममा कलिला युवायुवतीको ब्रेनवास गरेर सदस्य सञ्जाल विस्तार गर्न सिकाइन्छ भने महिनाको अरबपति बन्न सकिने फोस्रो सपनामा उनीहरुलाई भ्रमित पारिन्छ । तालिममा कसरी पैसा कमाउने होइन, कमाएको पैसा के गर्ने भनेर युवायुवतीलाई कम्पनीको सदस्य बन्ने गरी सम्मोहित गरिन्छ ।

मासिक रु। ३५ हजारदेखि डेढ लाखसम्म आम्दानी हुन्छ भन्दै सदस्यलाई ओरियन्स कम्पनीकै फुड सप्लिमेन्ट बेच्न वा नयाँ तीन जना सदस्य खोज्न लगाइन्छ । रक्त क्यान्सर समेत निको पार्ने भन्दै बेचिने उक्त औषधि दिने कुनै डाक्टर हुँदैनन्, कक्षा ११÷१२ पढेको तिनै सदस्यले नै औषधि दिन्छन् । तल्लो तहको सदस्यलाई फस्ट, सेकेन्ड, थर्ड हुँदै क्रमागत रुपमा डाइमन्ड उपाधि दिइन्छ । फस्ट डाइमनलाई रु। १० देखि १५ हजार, सेकेन्ड डाइमन्ड हुनेलाई रु। ३० देखि ३५ हजार र थर्ड डाइमन्ड बन्न चाहनेलाई रु। एक लाख लगानी गर्न बाध्य पारिन्छ ।

साना हात नेपालको काँकडभिट्टा कार्यालयका स्टेसन मेनेजर राजेश गुरुङका अनुसार तालिम लिएका युवायुवतीले जागिरको धरौटीका लागि भन्दै अभिभावकलाई करकापमा पारेर पैसा झिकाउने र ओरियन्स कम्पनीका कारोवारीलाई लुटाउने गरेका छन् । पैसा नपठाए आफ्नै किड्नी बेचेर पनि ओरियन्सको जागिर खाने वा आत्महत्या गर्ने भन्दै युवायुवतीले पैसाका लागि अभिभावक धम्क्याउने गरेको जानकारी प्राप्त भएको गुरुङले बताए । पैसा लिएपछि कम्पनीले कुनै बिल भपाई दिदैन ।

भारतको पानीटङ्कीस्थित साना हात भारतका स्टेसन मेनेजर विवश रसाइलीले ओरियन्स कम्पनीमा काम गर्न भन्दै नेपालबाट कलिलो उमेरका युवायुवतीलाई भारतको सिलिगुढीमा लैजाने क्रम धेरै नै बढेको पाइएको जानकारी दिदै भारतको स्थानीयबासी भने यस नेटवर्किङ धन्धामा नफँसेको बताउछन् । उनका अनुसार नेपालको रोल्पा, रुकुम, जाजरकोट, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, दैलेख लगायतका जिल्लाबाट आउनेको सङ्ख्या अधिक रहेको छ । आफुहरुले सोधपुछको क्रममा धेरैजसोलाई सम्झाइबुझाई नेपालतिर फर्काइदिने गरेको रसाइलीले बताए।

ओरियन्सका मुख्य कारोवारीहरुले नेपाली युवायुवतीलाई सदस्य बनाएर पैसा असुलिसकेपछि बोनस र डायमन्ड पदवी बढाउने बहानामा आफ्नै नातागोता, फेसबुकका साथी र बेरोजगारहरुलाई सदस्य बनाउन दवाव दिने गरेका छन् । साथीसंगी नफँसाएसम्म आफ्नो लगानी नउक्सिने भएकाले नयाँ सदस्यहरु एजेन्टमा रुपान्तरित हुँदै आएका छन् । एजेन्टहरुले फेसबुकका बेस्ट फ्रेन्ड र नजिकका नातेदारलाई विश्वासमा पारेर सञ्जालको सदस्य बनाउँदै आएका छन् ।

सदस्य बनाउन ल्याउने गरिएका अधिकांश युवायुवती कर्णाली प्रदेश लगायतका दुर्गम क्षेत्रका छन् । उनीहरु उमेरले कलिला र झापा भन्ने ठाउँ नै नचिनेका छन् । लैङ्गिक विभेदमा परेका, पढाइमा मन नलगाइरहेका, बाबुआमाबाट टाढा रहेका र फेसबुकमा नचिनेका साथीसँग खुलेर कुराकानी गर्दै आएका किशोरीलाई लक्षित गरी सदस्य बनाउने गरिएको पाइन्छ । हरेक दिन ओरियन्सको तालिम, कुराकानी, अरबपति बन्ने सपना आदिले गर्दा उनीहरुमा भावी जीवन सुखी र समृद्ध बनाउन ओरियन्स एकमात्र सहारा हो भन्ने भ्रम पर्ने गरेको छ ।

एजेन्टलाई पक्रेर थुन्न प्रजिअको निर्देशनः
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ओरियन्स नेटवर्किङ धन्धामा लागेकाहरुलाई पक्रेर कानूनी कार्वाही चलाउन प्रहरीलाई निर्देशन दिइएको बताए । ‘नेपालभित्रको कम्पनी भए बिघटन गरिदिन सकिन्थ्यो,’ प्रजिअ रानाले भने, ‘तर विदेशी मुलुकको कम्पनी भएको हुँदा त्यसका एजेन्टलाई पक्रदै मानव बेचविखन अपराधमा कानूनी कार्वाही चलाउनुको बिकल्प अब रहेन ।’

भारतको सीमावर्ती नाका पानीटङ्कीमा रहेको भारतीय सीमा सुरक्षा बलका उपकमाण्डर रबि तेजाले मानव बेचबिखनको जोखिम तथा आर्थिक ठगीको जोखिममा पारेर कलिया युवायुवतीहरुलाई फकाइफुल्याई भारत ल्याएर राखिएको सेल्टरका बारेमा नेपाली सरकारी पक्षबाट आधिकारिक रुपमा जानकारी आए छापा मारेर दोषीलाई कानूनी कार्वाही गर्न सकिने बताए । उनले अहिलेसम्म नेपाल सरकारबाट कुनै गुनासो नआएको दावी गरे।

भारतको सिलिगुढीस्थित सिटी सेन्टरको तीन तलामा रहेको ओरियन्स ग्लोबल मार्केटिङ प्रालिको कार्यालयमा पत्रकारलाई पस्न निषेध गरिएको छ । कम्पनीको परिचयपत्र बोकेका एजेन्ट र तालिमका लागि छनौट भएर कोड नम्बर पाएका नयाँ सदस्यहरुलाई मात्र त्यहाँ प्रवेश दिइने गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका एजेन्ट २० वर्षीय मोहम्मद आलम मियाले सिलिगुढीको सिटी सेन्टरमा हप्तैपिच्छे नयाँ सदस्यहरुलाई मोटिभेसनल तालिम सञ्चालन हुने गरेको बताए। मियाले सदस्य बढाउँदै लगेर एक लाख सदस्य हुनेहरु २२ जना पुर्याएपछि एउटा कार पुरस्कार दिने, यूरोप भ्रमणमा लैजाने र कम्पनीको अफिसर बनाएर जीवनभर जागिर दिने भनेर आफुलाई अस्फाक आलम नामका प्रशिक्षकले काममा लगाएको जानकारी दिए।

हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका मियाले तालिममा ओरियन्सको औषधि खाएर आफ्नो नातेदारको क्यान्सर निको भएको, नेटवर्किङमा लागेर करोड कमाएको, विदेश भ्रमण गरेको, महँगो ल्यापटप, मोवाइल सेट र कार भएको, गरीव बुबाआमालाई घरमा महिनैपिच्छे लाखौ रकम कमाएर पठाउन थालेको, आमाबुवालाई लिएर विश्वभ्रमणको योजना बनाइरहेको, नेपाल सरकारले केही दिनभित्रैमा ओरियन्सलाई खुला गर्न लागेको जस्ता हावादारी कुरा गरेर सदस्य फँसाउन सिकाउने गरेको बताए ।

केही वर्ष अघि नेपालमा गोल्डक्वेस्ट, युनिटी, मोदीकेयर जस्ता नेटवर्किङ धन्धामा लागेर सर्वसाधारण ठगिएपछि सरकारले ती कम्पनी बन्द गरेर सञ्चालकहरुलाई कार्वाही गर्नुपरेको थियो । अहिले ओरियन्स कम्पनीले विदेशी भूमिमा बन्धक बनाएर नेपाली युवायुवतीबाट अरबौं रकम लुटिरहेको छ ।

सत्ताइस लाखको ओरियन्सका औषधि जफतः
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले नेपालमा प्रतिबिन्धत सामान भएको हुँदा नाकाबाट ल्याइने ओरियन्सका औषधिजस्तो देखिने फुड सप्लिमेन्टका सामानहरु जफत गर्न थालिएको जानकारी दिए ।

‘औषधि व्यवस्था विभागको स्वीकृतिबेगर कुनै पनि औषधिजन्य वस्तु आयात वा ओसारपसार गर्न पाइँदैन,’ भन्सार प्रमुख विश्वकर्माले ओरियन्सका सामान ल्याउन नपाइने बताउँदै भने, ‘मेरो आमा बिरामी हुनुहुन्छ, म आफै बिरामी भएर यही दबाई खाँदैछु भन्ने बहाना गरेर कतिपयले ओरियन्सका सामान नाकाबाट छिराउन खोज्दारहेछन्, त्यसलाई हामीले रोकेका छौं ।’

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६÷०७७ को ६ महिना अवधिमा रु। २७ लाख ६ हजार मूल्य बराबरका ओरियन्सका सामान जफत गरेको छ । भन्सार प्रमुख विश्वकर्माका अनुसार ओरियन्स ठगी धन्धा भएको हुँदा यसलाई रोक्न नाकामा निगरानी बढाइएको छ ।

नाकामा ओरियन्सका प्रतिबिन्धत औषधि भित्रिन नदिन सुरक्षा निकायहरु सक्रिय बनेका छन् । गत ६ महिनामा जफत ओरियन्सका औषधिमध्ये आधाजति सामान सशस्त्र प्रहरी वलको भन्सार राजश्व गुल्म एक्लैले बरामद गरेको हो । गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले सो अवधिमा रु। १२ लाख ८८ हजार ५६ रुपैयाँ मूल्यबराबरको ओरियन्सका प्रतिबन्धित औषधि वरामद गरेर भन्सार बुझाइएको जानकारी दिए । सो अवधिमा नेपाल प्रहरीले रु। ६ लाख ९१ हजार, भन्सार कार्यालय आफैले रु। ६ लाख ६० हजार र सशस्त्र प्रहरीले रु। ६६ हजार मूल्यबराबरको ओरियन्सका सामान बरामद गरेर भन्सार दाखिला गरेका थिए ।

नाका वारिपारि दजैनौं होस्टलः
अभिभावकहरुलाई झुक्याएर आएका नेपाली युवयुवतीलाई काँकडभिट्टा नाका कटाएर भारतको सिलगढी पुर्याउनु अघि ओरियन्सका एजेन्टहरुले झापाको विर्तामोड, चारआली, धुलावारी र काँकडभिट्टा वरपरका केही घर भाडामा लिएर राख्ने गरेका छन् । ती घरलाई उनीहरु होस्टेल भन्छन् । होस्टेलमा उनीहरुलाई एजेन्टले बाहिरी सम्पर्कबाट अलग गर्दै बन्धक बनाउने गरेका छन् ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सीमामा पर्ने धाइजनमा एक जना भूतपूर्व भारतीय सेनाको दुईतले पक्की घरमा ओरियन्सका एजेन्टले पश्चिम नेपालबाट आउने युवायुवतीका लागि गत वर्ष अबैध होस्टेल सञ्चालन गरेका थिए । १५ देखि २२ वर्षसम्मका युवतीहरुलाई सो घरमा युवाहरुसँगै राखिएको थियो । एउटा कोठामा १२ जनासम्मलाई कोचेर राख्ने गरिएको थियो । विप्लब माओबादीका कार्यकर्ताले सेल्टर बनाएको हल्ला भएपछि प्रहरीले सोधपुछ गरेको हुँदा एजेन्टहरुले होस्टेल अन्यत्रै सारेका थिए ।

धुलावारी र काँकडभिट्टाका होस्टेलमा राखिएका उनीहरुलाई भारतबाट खबर आएपछि मात्र तालिमका लागि भन्दै नाका कटाएर होस्टेल सार्दै सिलिगुढी पुर्याउने गरिएको पाइन्छ । स्थानीय भूगोलको ज्ञान नभएका उनीहरुलाई नेपाली भाषा चल्ने सीमावर्ती पानीटङ्कीमा सञ्चालन गरिएका होस्टेलमा पैसा नतिरेसम्मका लागि राखिन्छ । पैसा नतिरे सिलिगुढीमा हुने तालिममा जान नपाउने र बेखर्ची भएका कारण घर फिर्न पनि नसक्ने हालतमा पुगेका उनीहरुले पैसा नपाए मरिदिने भन्दै अभिभावकलाई धम्क्याउने समेत गरेका छन् ।

भिन्न भिन्न ठाउँबाट आएका सदस्यविच परिचय घनिष्ठ बनोस् भनेर होस्टेल बदलेर राख्ने गरिएको एजेन्टकै काम गर्दै आउनुभएको उदयपुरको गाईघाट घर बताउने २२ वर्षीया अनिता मगर बताउछन् । पानीटङ्कीमा ३ वटा होस्टेलमा आफु पुगेको तर अरु ८÷१० वटा होस्टेल पनि रहेको सुनेको उनले बताए ।

उहाँका अनुसार नेपालीहरुलाई राख्न सिलिगुढीको मतिगडा वरपर ६० देखि ८० वटा अबैध होस्टेल सञ्चालनमा रहेका छन् । होस्टेलमा खान र बस्नका लागि लाग्ने खर्च सदस्यसँग प्रतिव्यक्ति रु। दुई हजार सुरुमै लिने गरिन्छ । होस्टेलमा बस्दा मेसमा खाना खानुपर्ने, कम्पनीले दिएका किताबहरु पढ्नुपर्ने, बाहिरिया मानिससँग सम्पर्क गर्न नहुने र नियमित रुपमा प्रशिक्षणमा भाग लिनुपर्ने नियम लगाइएको हुन्छ । मोवाइल र फेसबुक चलाउन भने उनीहरुलाई छुट दिइएको हुन्छ । होस्टेलको एउटा कोठामा २० जनासम्म खाँदाखाँद गरेर राख्ने गरिएको छ ।

सिटी सेन्टरमा सञ्चालन हुने मोटिभेसनल कार्यक्रममा एकैखेपमा एक हजारभन्दा बढी सदस्य सहभागी हुने गरेको र सिलिगुढी वरपर ओरियन्सको होस्टेलहरुमा हजारौंको सङ्ख्यामा पश्चिम नेपालबाट आएका युवायुवती बस्ने गरेको उनि बताउछन् ।

सीमा क्षेत्रमा नेटवर्किङ धन्धाको बिगबिगीः
भारतमा प्रतिबन्ध नभएको कारण विभिन्न नामका नेटवर्किङ बिजनेसको धन्धा सीमावर्ती नेपालका सहर तथा गाउँमा पनि फैलिन थालेको छ । पिरामिढ शैलीमा सदस्य सञ्जाल विस्तार गर्दै जाँदा बोनस धेरै पाइने लोभमा नेपाली एजेन्टहरु नै चोकचोकमा सदस्य फँसाउँदै हिँडेको भेटिने गरेको छ ।

भारतमा दर्ता र कार्यालय रहेका ओरियन्स जस्तै इम्पोरियम, आर्च र मिराकल नामक नेटवर्किङ बिजनेस नेपाली सीमावर्ती बजारमा फस्टाएका छन् । कपडा, टुथपेस्ट, खानेतेल, साबुन जस्ता सामान दिएर सदस्य बनाउने गरेको हुँदा उपभोक्ताहरुले आफु ठगिएको चाल पाउँदैनन् ।

भारतको सिलगढी सहरमा बसेर पश्चिम नेपालसम्म ओरियन्सको ठगी सञ्जाल फैल्याउने कार्यमा आफुलाई डाइमन्ड डाइरेक्टर भनेर चिनाउने सन्दिप बस्नेत, जगदीश चौहान, अस्फाक आलम र ईश्वरीप्रसाद नेपाली संलग्न रहेको ओरियन्सका एजेन्टहरुले नै बताउने गरेका छन् । यी मुख्य व्यक्तिहरु दिल्ली, कोलकाता, मुम्बई र चेन्नाइमा बस्दै आएको र सिलगढीमा तालिमका बेला पैसा उठाउन मात्र आउने गरेका छन् ।

ओरियन्सको नेटवर्किङ धन्धामा कति नेपाली फँसेका छन् भन्ने आधिकारिक तथ्याङ्क नेपाली पक्षसँग छैन । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल भारत जाने ताँती विचार गर्दा ठगिएका नेपालीको सङ्ख्या हजारौं हुनसक्ने अनुमान गर्छन् ।

कलिला किशोरीहरु छानीछानी सदस्य बनाउने, अथाह पैसा कमाउने प्रलोभन दिइने, अभिभावकलाई थाहै नदिई सीमापार गराउने, सञ्जालको सदस्य बनाएर रकम असुल्ने, एउटै कोठामा २० जनासम्म राख्ने लगायतका ओरियन्स कम्पनीको गतिविधिका कारण हजारौं नेपाली किशोरकिशोरी भारतको सिलिगुढीमा मानव बेचविखन र आर्थिक ठगीको जोखिममा परेका छन् । तत्काल यो विषयमा ध्यान पुर्याएर भारतीय निकायहरुसँग समेत सहकार्य गरी जोखिममा परेकाहरुलाई उद्धार गर्न आवश्यक भइसकेको छ ।