धरानः उपभोक्ताहरु सचेत भए स्वस्थ जिवन जिउन सहज हुने धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईल बताए । राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीले सोमबार धरानमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा उनले धरानमा उपभोक्ताहरुलाई सेवाग्राहीहरुले प्रदान गर्ने सेवा सुलभ र सहज रुपमा प्रदान होस् भनेर जनप्रतिनिधिहरुले काम गर्ने बताए ।
कृषि बजारमा खुद्रा मुल्यभन्दा बढि शुल्क लिने गरेको र उपभोक्ताको हितमा धरान १३ स्थित कृषि उपज बजारले काम नगरी व्यापारी बर्गलाई मात्र फाइदा पु¥याएकोमा अब त्यसको समेत अन्त्य गर्न गृहकार्य भईरहेको जानकारी दिए । मेयर राईले बिचौलियाहरुको अन्त्य गरेर सेवा प्रदायक संस्थाहरुले नियम संगत रुपमा सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउन धरान उपमहानगरपालिकाबाट कार्य भइरहेकोले उपभोक्ताहरु समेत सचेत भएर आफुले उपभोग गर्ने बस्तु वा सेवाका विषयमा राम्ररी अध्ययन लिएर मात्र उपभोग गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल सरकार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत रामहरी पोखरेलले सेवाग्राहीले सस्तो पाइयो भन्दैमा अखाद्य र हानीकारक बस्तुको उपभोग गर्न नहुने बताए । कुनै व्यक्तिले नियम विपरित व्यवसाय सञ्चालन गरेको भए ११३७ नम्बरमा फोन गरेर वाणिज्य विभागलाई खबर गर्न समेत आव्हान गरे । सरकारले उपभोक्ता हक हितका लागि विभिन्न ऐन कानून समेत निर्माण गरी लागू गरेका कारण सबै उपभोक्ता सचेत हुन जोड दिए ।
त्यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई सचेत गराउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए । त्यसका लागि संघीय, प्रदेश र स्थानीय सबै तहका सरकारले नीति तथा कार्यक्रम सञ्चालन गरेका कारण उपभोक्ताले उपभोग गर्ने खाद्य बस्तुहरुको गुणस्तर मापन गर्नुपर्ने बताए । बजारमा खसीलाई संगीनी सुई लगाएर मासुको तौल बढाएको, कुखुरालाई एन्टिबायोटिक औषधी खुवाएको र अन्य खाद्य बस्तुमा समेत विषादीको मात्र अत्यन्तै बढेका कारण मासु तथा सागसब्जी घरमा ल्याएपछि राम्ररी पखाल्ने, त्यसपछि आधाघण्टा आयोडिन युक्त नुनपानीमा छोपेर राख्ने र त्यसपछि पखालेर मात्र पखाउनु पर्ने बताए । त्यसो गर्दा स्वास्थ्यमा अखाद्य बस्तुले असर नगर्ने बताए ।
आयोडिन महिनाका रुपमा नेपालले हरेक वर्ष फेबुअरी महिनालाई मनाउँदै आएको सन्दर्भमा आयोडिनयुक्त नुन तथा खाद्य पदार्थको प्रयोग सम्बन्धि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीका सचिव तारा लामिछानेले बताए । कार्यक्रममा धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा, सुनसरी उद्योग वाणिज्य महासंघ सुनसरीका वाणिज्य सचिव सिताराम आचार्य, साल्ट टे«डिङ कर्पोरेशनका लहान प्रमुख जितेन्द्र शाह, इलाका प्रशासन कार्यालय धरानका नायब सुब्बा टंकबहादुर श्रेष्ठ, महिला सञ्जाल धरानकी उपाध्यक्ष सपना राई, प्रोपर्टी डिलर्स एशोसिएशन सुनसरीका सदस्य विवेक आले, सञ्चारकर्मी बिनय प्रधान लगायतले उपभोक्ता हक, हित र अधिकारका विषयमा स्थानीय सरकार सक्रिय भएर काम गर्नुपर्ने बताएका थिए ।