धरानः मादकपदार्थ सेवन गरि सवारी चलाएको पाइए ट्राफिक नियम सम्बन्धी परिक्षा दिनुपर्ने प्रावधान ट्राफिक प्रहरीले लागु गरेको छ ।
मोरङमा डेढ वर्ष अघि देखिनै शुरु भएको परिक्षा दिनुपर्ने प्रावधान सुनसरी र झापामा पनि गत १५ गते देखि शुरु भएको छ । प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले झापा र सुनसरीमा पनि परिक्षा दिनुपर्ने प्रावधान शुरु गरेको हो । सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ दिनमा धरानमा ६५ जनाले परिक्षा दिएको जनाएको छ । ट्राफिक नियम सम्बन्धीका ८० वटा प्रश्नमा ४० वटा प्रश्नको उत्तर मिलाए पछि मात्रै सवारी चालक अनुमती पत्र फिर्ता हुनेछ । कार्यालयका प्रमुख अन्जान कोइरालाका अनुसार धरान, तरहरा र बराहक्षेत्रमा गरिएको चेकजाँचका क्रममा मापसे गरेका सवारी चालकहरु ६५ जनालाई परिक्षा दिन लगाएको छ । जस मध्ये ४ जनाले दुई चरणमा परिक्षा दिएर पास गरेका छ भने १ जनाले अझै परिक्षा पास गर्न नसकेको उनले बताए ।
परिक्षा पास गरे पछि मापसे गरे वापतको जरीवाना १ हजार तिर्नुपर्ने हुन्छ भने सवारी चालक अनुमती नलिएकालाई थप १ हजार रुपैया जरीवाना तिर्नुपर्ने उनले बताए । सुनसरीका दुई स्थानमा परिक्षा दिने व्यवस्था गरिएको उनले बताए । हाइवेमा मापसे गरी सवारी साधन चलाएको भेटिए प्रादेशिक ट्राफिक कार्यालय इटहरीमा परिक्षा दिनुपर्ने हुन्छ भने तरहरा, धरान र बराहक्षेत्रकाले धरान स्थित जिल्ला ट्राफिक कार्यालय धरानमा परिक्षा दिनुपर्ने हुन्छ ।
परिक्षा दिनुपर्ने प्रावधानले सवारी चालकहरुमा ट्राफिक नियमको बारेमा पुर्णरुपमा जानकारी हुने भएकाले उत्तम रहेको ट्राफिक प्रहरी निरिक्षक कोइरालाको भनाई छ । परिक्षामा सहभागिहरुले पनि ट्राफिक नियमको बारेमा जानकारी भएकाले राम्रो भएको प्रतिक्रिया दिएका छन् । सबैले सकारात्मक रुपमा लिएको कोइरालाले बताए ।
मोरङमा डेढ वर्ष अघि देखिनै परिक्षा दिनुपर्ने प्रावधान शुरु भएको थियो । अहिले मोरङमा अनलाइन सिस्टमबाट पनि परिक्षा दिने व्यवस्था गरेको छ । महंगो पर्ने भएकाले सुनसरीमा अनलाइन सिस्टम लागु गर्न नसकेको उनले बताए ।