विराटनगरःआयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले बताए ।
निर्यात प्रबद्र्धनका लागि उद्योगी व्यवसायीको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै मन्त्री कुसियैतले वैदेशिक व्यापार सहजीरकणका लागि प्रदेश सरकारले बनाउनुपर्ने कानुन तथा नीतिका विषयमा पनि प्रशिक्षणमा छलफल हुनुपर्ने बताए । निजी क्षेत्रको सल्लाह र सुझाव अनुसार नै प्रदेश सरकारले उद्योग व्यवसाय सम्बन्धि नीति तथा कानुन तयार गर्ने स्पष्ट पार्दै मन्त्री कुसियैतले भने, ‘‘आयात घटाउन र निर्यात बढाउन प्रदेश सरकारले ल्याउनु पर्ने आवश्यक नीतिका विषयमा निजी क्षेत्रको सुझाव आवश्यक छ ।’’ प्रदेश १ कृषिजन्य बस्तु उत्पादनमा अब्बल भए पनि बस्तु छनोट तथा ब्राण्डीङमा पछि परेका कारण तुलनात्मक लाभका बस्तुहरू उत्पादन गर्ने र निर्यात क्षमता बढाउन आबश्यक रहेको उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित बस्तुले आयात प्रतिस्थापन गर्नु आबश्यक रहेको बताए । आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश १ मा उद्योगी, व्यवसायीको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले दुनियामा निर्यात गर्न सक्ने देशले मात्रै आर्थिक विकास गर्नसक्ने भएकाले आर्थिक समृद्धिका लागि निर्यात आबश्यक रहेको धारणा राखे ।
निर्यातजन्य बस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रदेशस्तरीय प्रशिक्षण बुधबारदेखि विराटनगरमा सुरू भएको हो । दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तरगत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष एंव प्रतिनिधिहरु गरी ४० जनाको सहभागिता रहेको छ । कार्यक्रममा अर्थविज्ञ रवि भट्टराईले नेपालको आर्थिक सहित निकासी र पैठारीको अवस्थाका संभावनाका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।