इलामः इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल एसएसबीले पक्राउ गरेको छ ।
सन्दकपुर क्षेत्रमा ड्रोन मार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटा लगायतलाई एसएसबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै झापाका हुन् । सन्दकपुरको पर्यटन प्रवद्र्धनसम्बन्धी भिडियो निर्माण गर्न उनीहरुले ड्रोन प्रयोग गरेको बुझिएको छ । तर, भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको र त्यही कारण पक्राउ गरिएको दाबी गरेको छ । पक्राउ परेका उनीहरुलाई बुधबार नै दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी पु¥याइएको थियो । उनीहरु विरुद्ध भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ ९ए अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको छ ।
दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ड्रोन चलाउन डिजिटल पोर्टलमा दर्ता हुनु पर्ने, एयर क्राफ्ट अपरेटरको अनुमति लिनु पर्ने प्रावधान रहेको तर त्यस्तो नपाइएको जिल्ला अदालतका अधिकारी पंकज प्रसादले जनाए । नेपाली कानुन अनुसार ड्रोन उडाउन स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ भने सीमा क्षेत्रको ५ किलोमिटर टाढा मात्रै उडाउन पाइन्छ ।