इटहरीः  मोरङको सुन्दरहरैचा ५ मा गत ८ फागुनमा १९ बर्षीया प्रिती तिम्सीना (अधिकारी) ले आत्महत्या गरिन् । दुई बर्षे छोरीलाई माइतमा राखेर एक्लै बस्दै आएकी उनले आफ्नै डेरामा सलको पासो लगाई आत्महत्या गरेकी थिईन् ।
प्रितिका श्रीमान् भने सवारी चालक हुन् । प्रितिले आत्महत्या गर्नु अघि लेखेको डेढ पेज लामो सुसाईड नोट प्रहरीले घटनास्थलबाट बरामद गरको थियो । सुसाईड नोट प्रहरीले अध्यान गरेपछि मात्र घटनाको चुरोमा पुगेको थियो । सुसाईड नोटमा आफुलाई मर्न बाध्य बनाउने रिषिराम भट्टराई र मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने १९ बर्षीया सन्जिता निरौला रहेको दाबी गरिएको थियो । जसमा रिषि र सन्जिता मिलेर आफ्नो नग्न तस्विर फेसबुकमा हाल्ने धम्की दिदै धेरै पटक पैसा मागेको र पैसा दिन नसक्ने भएपछि आत्महत्याको बाटो रोजेको उनले लेखेकी थिईन् । ‘दुबैजनालाई पक्राउ गरेर कडा भन्दा कडा सजाय दिए मात्र आफ्नो आत्माले शान्ति पाउने’ सुसाइड नोटमा प्रितीले लेखेकी छिन् । फोटो देखाई एक बर्षदेखि ‘ब्ल्याकमेल’ गरेको प्रमाण मोबाइल र फेसबुकको म्यासेजहरु फोनमा ‘सेभ’ गरेर राखेको उनले नोटमा लेखेकी थिईन् । घटनास्थलबाट इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बरामद गरेको सुसाईड नोट र मोबाइलको आधारमा अनुसन्धान अघि बढाउदा यो तथ्य भेटाएको छ ।
बेलबारी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रितीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुबैजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनाको बारे जानकारी दिदै बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले रिषि र ‘डाजलिङ कुईन’ नाम गरेको फेसबुक आईडी प्रयोग गरी दिपा नाम गरेको व्यक्तिबाट प्रितीलाई नग्न फोटो फेसबुकमा पोष्ट गर्ने भनेर पैसा असुलेको अनुसन्धानबाट देखिएको बताए । सन्जितालेनै दिपाको नाम लिएर फेसबुकमा कुरा गर्ने गरेको उनले बताए । ‘रिषिले धम्काउने र सन्जितालाई प्रितीसँग पैसा लिन पठाउने गरिएको थियो, मृतकले सन्जिताको हातमा ९ पटक सम्म कहिले दुई हजार त कहिले पाँच हजारको दरले पैसा लिइएको भेटियो’ बुढाथोकीले भने ‘प्रितीले उनिहरुलाई पैसा दिन सिक्री र कानको मुन्द्रा समेत बेचेको देखिन्छ’ ।
प्रितीले आत्महत्या गरेको ८ फागुनमा पनि रिषिले पैसा मागेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनले भने, ‘बिहान रिषिले फोन र म्यासेज गरेर पैसा मागेका थिए, पैसा नभएपछि प्रितीले अन्तत बाध्य भएर आत्महत्या गरिन्’ । ब्लाक मेल गरि लगातार पैसा मागिएपछि प्रिती ४ महिनादेखि डिप्रेशनको शिकार समेत भएको बताइएको छ । पक्राउ परेका दुवैलाई आत्महत्या दुरुत्साहान मुद्धामा म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको बेलबारी प्रहरीले जनाएको छ । दुबैजनामाथि दुरुत्साहान गरेको ठहर भए पाँच बर्षसम्मको कैद सजाय हुने जनाइएको छ ।