इटहरीः समाजिक संजाल फेसबुक मार्फत चिनजान भएको आधारमा जागिरको प्रलोभनमा परि काठमाण्डौं गएका इटहरीकी एक महिला सामूहिक बलात्कारको शिकार भएकी छन् । इटहरीकी ३४ बर्षीया महिला काठमाण्डौंमा दुई दाजुभाईले सामूहिक बलात्कार गरेका हुन् । पिडित महिलाको उजुरीका आधारमा प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा दुईदाजु भाईलाई पक्राउ गरेको छ । दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको हो ।

पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको वृतका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकरी दिए ।

ती महिलालाई उनीहरुले जागिर मिलाइ दिने प्रलोभन देखाइ काठमाडौं बोलाएर सामूहिक बलात्कार गरेका थिए । उनीहरूले ती महिलालाई काठमाडौंको बूढानीलकण्ठस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर पालैपालो बलात्कार गरेको पीडितले प्रहरीमा दर्ता गराएकी उजुरीमा उल्लेख छ ।

पक्राउ परेका दुई जना सहोदर दाजुभाई भएको प्रहरीको भनाइ छ । आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिए ।