इटहरीः इटहरीमा आजबाट प्रदेश १ को पहिलो सैनिक अस्पताल सञ्चालनमा आएको छ । ३० हजार वर्ग मिटरको क्षेत्रफलमा १६ करोडको लागतमा बनेको अस्पताल प्रधानसेनापति पूर्णचन्द्र थापाले आज बिहान उद्घाटन गरे ।

यो सँगै नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल काठमाडौँ बाहिर तीन वटा स्तरीय अस्पताल बनेको प्रधानसेनापति थापाले बताए । इटहरी बाहेक पोखरा र नेपालगन्जमा समेत सैनिक अस्पतालहरू बनेको र धनगढी तथा बर्दिबासमा स्याटलाइट अस्पतालहरू बन्दै गरेको उद्घाटनपछिको संक्षिप्त मन्तव्य राख्दै प्रधानसेनापति थापाले बताए ।

COAS General Purna Chandra Thapa Military Hospital Itahari pradeshportal.com

 

नेपाली सेनाका सेवारत तथा अवकाशप्राप्त सैनिकहरू र उनीहरूका परिवारलाई सेवा दिन ५० सैयाको अस्पताल खोलिएको प्रधानसेनापति थापाले बताए । नेपाली सेनाको पूर्वी पृतना हेडक्यार्टरमा निर्माण भएको अस्पतालमा सैनिकका आमाबुबा, श्रीमती तथा छोराछोरीले सहज उपचार पाउने नेपाली सेनाले बताएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा २०७४ कार्त्तिक १५ बाट निर्माण सुरु भएको अस्पतालको निर्माण सम्पन्न २०७६ मङ्सिर १५ मा भएको निर्माण इन्जिनियर निश्चलजंग रायमाझीले जानकारी दिए ।

अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, ईन्डास्कोपी, अल्ट्रासाउन्ड, एक्स-रे लगायतका थुप्रै सेवाहरू रहेको नेपाली सेनाले बताएको छ । अस्पतालमा आइसियु युनिट, आइसोलेटेड वार्ड, बालरोग वार्ड, पुरुष तथा महिला वार्ड, पृसुति वार्ड, प्रसूति शल्यक्रिया कक्ष देखी विभिन्न महत्त्वपूर्ण वार्डहरू रहेको नेपाली सेनाले बताएको छ ।

अस्पतालमा ७७ जना मेडिकल जनशक्तिहरू रहेको र १३ जना अनुभवी डाक्टरहरू रहेको सैनिक अस्पताल इटहरीकी कमान्डिङ अफिसर तथा एमबिबिएस र श्वासप्रश्वास औषधिमा एमडि गरेकी डाक्टर उसब राना मुसिनले बताइन ।

यसैबिच, नेपाली सेना तथा उनीहरूको आश्रित परिवारलाई लक्षित गरेको अस्पतालका सेवा सर्वसाधारणहरुलाइ समेत प्रधान गर्न इटहरीकी उपमेयर लक्ष्मी गौतमले माग गरेकी छिन । आज उद्घाटन सत्रमा प्रधानसेनापतिसँग आफूले यो विषय राखेको गौतले बताइन ।

इटहरीमा यस अगाडि स्थानीय सरकारको पहलमा स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएको २५ सैयाको इटहरी अस्पताल सञ्चालनमा छ ।