धरानः जनप्रतिनिधी आए पछिको अढाई वर्ष बितिसक्दा पनि स्थानीय तहको बजेट कार्यान्यवन अझै निरासाजनक नै भइरहेको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि तेस्रो वर्षको बजेट कार्यान्यवनमा पनि उस्तै अवश्था रहेको छ ।
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को करिब ७ महिनाको बजेटको आयव्यय पनि निराशाजनक नै रहेको छ । बजेट कार्यान्यवनको शुरुवात समयमै हुन नसक्दा धरानको चालु वर्षको बजेट ७ महिनामा ३१ दशमलव १८ प्रतिशत मात्रै भएको पाइएको छ । कुल वार्षिक बजेट १ अर्ब ८७ करोड ९९ लाख ८ हजार भएको धरानको बजेट माघ महिना सम्म ५८ करोड ४८ लाख ८३ हजार ७१ रुपैया मात्रै खर्च गर्न सकेको छ । अबको बाँकी ५ महिनामा १ अर्ब २९ करोड ११ लाख १४ हजार ९ सय २८ रुपैया खर्च गर्नुपर्ने छ । बजेट स्वीकृत भए पछि नितीगत व्यवधानहरु समयमै पुरा गर्न नसक्दा उपमहानगरपालिकाले बजेट खर्च गर्न नसकेको हो ।
उपमहानगरपालिकाको लेखा महाशाखाका प्रमुख भेषराज अधिकारीका अनुसार विभिन्न लक्षित कार्यक्रम अन्र्तगत १५ करोड ३३ लाख १३ हजार ६ सय ७५ रुपैया सहित चालु खर्च तर्फ ३९ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको छ । चालु तर्फ रहेको ८५ करोड ३७ लाख ८४ हजार ४ सय ६१ मा ३३ करोड ७१ लाख १२ हजार ६ सय ६८ रुपैया खर्च भएको छ भने ५१ करोड ६६ लाख ७१ हजार ९ सय ४४ रुपैया खर्च गर्न बाँकी रहेको छ । उपमहानगरपालिकाले पुँजीगत खर्च तर्फ रहेको विकाशे योजनाहरुमा २४ दशमलव १५ प्रतिशत खर्च भएको जनाएको छ । वार्षिक बजेट ९९ करोड ४२ लाख ६३ हजार ३ सय ८७ मा २४ करोड १ लाख ६३ हजार ८ सय ७० रुपैया पुंजीगत खर्च भएको छ । अझै ७५ करोड ४० लाख ९९ हजार ५ सय १६ रुपैया पुंजीगत तर्फ खर्च गर्नुपर्ने देखिएको छ ।
उपमहानगरपालिकाको आय तर्फ पनि ४६ दशमलव ०४ प्रतिशत मात्रै प्रगति भएको देखिएको छ । कुल प्रस्तावित आय १ अर्ब ८८ करोड ९७ लाख ८९ हजार मध्ये ८७ करोड १ लाख १९ हजार ५ सय ८७ रुपैया आय देखिएको छ । उपमहानगरपालिकाले संघीय सरकारमा प्रस्तावित गरेको ७८ करोड ४० लाख ७० हजार ८ सय ६३ मा ५५ दशमलव ८३ प्रतिशत मात्रै प्रगति देखिएको छ । अझै ३४ करोड ६३ लाख २४ हजार ५ सय २ रुपैया बाँकी रहेको छ । त्यसै गरि प्रदेश सरकारबाट आउने अनुदानमा ५ दशमलव ९२ प्रतिशत मात्रै प्रगति देखिएको छ । उपमहानगरपालिकाको तथ्याङक अनुसार ११ करोड ५१ लाख ५९ हजार प्रदेश सरकालाई गरेको प्रस्तावित आयमा ६८ लाख १७ हजार मात्रै वास्तविक आय देखिएको छ । त्यस्तै राजस्व बाँडफाँड तर्फ कुल प्रस्तावित आय ४८ करोड ४८ लाख २७ हजारमा २८ दशमलव ८५ प्रतिशत प्रगति भएको छ भने आन्तरिक स्रोत तर्फ ३९ करोड ७७ लाख ५८ हजार मा ६१ दशमलव २५ प्रतिशत प्रगति भएको छ ।
चालु वर्षको बजेट कार्यन्यवनलाई हेर्दा यस वर्ष पनि ८० प्रतिशत सम्म मात्रै खर्च हुने अनुमान गरिएको लेखा अधिकृत अधिकारीको भनाई छ । उनले भने, ‘बजेट स्वीकृत भए पछि भदौमा अडिट भए पछि मात्रै खर्च हुने भएकाले पनि लक्ष्य अनुसारको खर्च गर्न सकेको छैन्, अघिल्लो वर्षहरु झै नै यस वर्षको पनि खर्च गर्ने परिपार्टी बसेको छ ।’ दोस्रो चौमासिक देखि मात्रै खर्च गर्न शुरु हुने भएकाले खर्च प्रगति कम भएको उनको भनाई छ । उनले भने, भदौ देखि शुरु हुन्छ, तर निकासा आको हुँदैन, योजनाहरु सिस्टममा हाल्नु पर्ने हुन्छ, ठुलो योजनाहरुको टेण्डर हाल्नुपर्ने अनि ढिलो आउने जस्ता समस्याले गर्दा पनि समयमै शतप्रतिशत बजेट कार्यान्यवन गर्न नसकेको हो ।’