सुनसरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा मानिसको भिड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको छ । छिमेकी चीनपछि भारतमासमेत औपचारिक रुपमा प्रवेश गरेको कोरोना भाइरसबिरुद्ध पूर्व सचेतना स्वरुप जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीले सो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सरकारले सार्वजनिक रुपमा विश्वभरी कोरोना भाइरसको खतरा बढेपछि भेला, सम्मेलन, सभालगायतका भिडभाड हुने कार्यक्रम नगर्न आवहन गरेकाले सुनसरी प्रशासनले त्यस खाले कार्यक्रम आयोजना गर्न नदिने बताए । प्रशासनले कोरोना भाइरसको जोखिमयुत्त खतरा बढेको भन्दै सार्वजनिक स्थानमा कुनै सभा सम्मेलन भेला तथा भिडभाड हुने कार्यक्रम गर्न रोक बताएको छ ।
गृह मन्त्रालयले यसका लागि छुट्टै परिपत्र जारी नगरेपनि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत देशवासीहरुलाई अपिल गरिसकेको अवश्थामा जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत धेरै मानिस भेला जम्मा हुने कार्यक्रम गर्न नदिने उनले स्पष्ट पारे ।
यसबीचमा सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फागुन २४ गतेको लागि आयोजना गर्ने तयारी गरेको दीक्षान्त समारोह स्थगित गरिएको छ ।
विश्वभरी कोरोना भाइरसको त्रास बढे पछि सरकारले भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरे पछि स्थगन गरिएको हो ।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरुप्रसाद खनालले मञ्च व्यवस्थापन, विद्यार्थी तयारी, अतिथि निमन्त्रणालगायतका कामको सबै तयारी पुरा गरी सकेको अवश्थामा कोरोनाको खतरा बढेकाले कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।
यसैगरी झापाको विर्तामोडमा नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । प्रशिक्षणको लागि करिब १६ सयभन्दा बढी नेता कार्यकर्ता बिर्तामोडमा भेला भएका थिए ।
कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा सम्मेलन नगर्न आह्वान गरेकाले नेकपाको प्रदेश एकको प्रशिक्षण रोकिएको हो ।
त्यसैगरी इनरुवामा आयोजना गर्न लागिएको होली विशेष कार्यक्रमहरु पनि प्रभावित हुने देखिएको छ।