इटहरीः इटहरी १ की १४ बर्षीया बालिका मिना (नाम परिवर्तन) लाई १९ माघमा उनी अध्ययनरत बोडिङ स्कुलमा एक युवकले गेटमा बोलाउँछन् र भन्छन् ‘तिम्रो बाबा दुर्घटनामा पर्नुभयो, इटहरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ । तिमिलाई लिन पठाउनु भएको हो, जाँउ हिड’ ।
मिना यो खबर सुन्न साथ स्तब्ध हुन्छीन् । लगतै कक्षा कोठामा पुगेर सहपाठीलाई जानकारी दिइ ति युवकसँग जान तयार हुन्छिन् । तर उनकी सहपाठीले खबर ल्याउने युवकको र घटनाको बिषयमा बुझेर मात्र जान सुझाव दिन्छिन् । राम्रोसँग नचिनेको र नदेखेको युवकले खबर ल्याउदा मिनालाई पनि शंका लाग्छ । गेटमा पर्खिएका युवकलाई मिनाले प्रश्न गर्छिनः ‘बाबा दुर्घटनामा पर्नुभएको हो भने घरका दादाहरु किन लिन आउनु भएन’ ? युवकले जवाफ फर्काेउदै भन्छन्ः ‘दादाहरु पनि अस्पताल जानु भएको छ । हतार हतार भएर म लिन आएको हुँ’ ।
त्यसो भए मेरो बाबासँग फोनमा कुरा गराउनु भनेर मिनाले आग्रह गर्छिन् । ति युवकले पनि फोन लगाउदै कुरा गर्न दिन्छन् । तर मिनाले फोनमा बोल्ने आफ्नो बाबाको स्वर नमिलेपछि मिनाको मनमा युवक प्रति शंका झन बढेर जान्छ । स्कुलका शिक्षकलाई पनि यो बिषय जानकारी गराएर आउछु भनेर मिना स्कुलकै एक शिक्षकको कोठा जान्छिन् । सबै कुरा शिक्षकलाई सुनाउँछिन् । र लिन आउने युवक प्रति शंका लागेको स्पष्ट भन्छिन् । ति शिक्षकले मिनाको बाबालाई सम्पर्क गर्दा घटना हुदै नभएको पत्ता लाग्छ । शिक्षक र मिना दौडेर स्कुलको गेटमा पुग्दा युवक भने फरार भइसकेका हुन्छन् ।
मिना आफुलाई अपहरणमा गर्ने प्रयास गरेको स्पष्ट हुन्छिन् । लगतै घटनाको बिषयमा उनका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी दिन्छन् । प्रहरीले स्कुलसम्म आउने युवकको पहिचान गर्छ र खोजतलासमा जुट्छ । प्रहरीले उनको घर नजिकै सानिमाको घरमा बस्ने २१ बर्षिय समिर बस्नेत भएको पत्ता लगाउँछ । तर समिर भने घटना लगत्तै फरार भइसकेका हुन्छन् ।
मिनाका परिवारले १९ माघमा नै बस्नेत बिरुद्ध अपहरण तथा शरिर बन्धक सम्बन्धि जाहेरी दिन्छन् । इलाका प्रहरी कार्यालय इटहरीले फरार बस्नेतलाई एक महिनापछि अर्थात शुक्रबार बिहान काठमाडौंबाट पक्राउ गरेको छ । बस्नेत पक्राउ परेपछि प्रहरीले गरेको अनुसन्धानबाट उनी मिनालाई मन पराउने गरेको र सो दिन प्रेम प्रस्ताव राख्न स्कुलमा लिन गएको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरी समक्षले बस्नेतले भनेका छन् ः ‘मिनालाई ५ महिनादेखि एकोहोरो प्रेम गर्दथे । उनको पसलमा पनि प्रायः जाने गर्दथे । धेरै पटक प्रस्ताव राख्न असफल भएपछि १९ गते स्कुल गएको हुँ’ । यता इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले काठमाडौंबाट पक्राउ परेका बस्नेतले ति बलिकालाई एकोहोरो प्रेम गर्ने गरेको बताए । तर घटनाको शैली भने अपहरण सम्बन्धि मिल्न गएको उनको भनाई छ । बस्नेतको बिषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।