इटहरीः आफ््नै बुबासंग अपहरणमा परेको नाटक गरेर फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।
मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।