इटहरी: कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
उपमहानगरको ७४ औँ बैठकले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमसहित सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् ।
उपमहानगरपलिकाले विभिन्न सरोकारवाला निकायसँग बिहीबार छलफल गरेर कार्यक्रम अगाडि बढाउने बताएको छ । बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी अस्पतालमा सूचना सामग्रीसहित हेल्पडेस्क स्थापना गर्ने, सार्वजनिक स्थानमा भेला, सम्मेलन तथा भीडभाड नगर्ने, सामुदायिक विद्यालयमा सूचनामूलक व्यानर तथा साबुनपानीको व्यवस्था गर्ने र नगरवासीलाई साबुनपानीले मिचीमिची हात धुन आग्रह गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।
यसरी जनचेतना तथा आवश्यक सतर्कता अपनाउनका लागि सहयोग गर्न निजी स्वास्थ्य संस्थालाई समेत आग्रह गरिएको उपप्रमुख गौतमले बताइन् । इटहरी अस्पतालका निमित्त मेसु मनिष शर्माले यो रोगको भाइरसले विशेष गरेर विभिन्न रोगको सामना गरिरहेका व्यक्ति तथा ६० वर्षभन्दा वढी उमेरका मानिसमा लाग्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरे ।
साथै यस कार्यक्रस सगैँ उपमहानगरपालिकाले इटहरी अस्पतालमा जाने बिरामीलाई आजबाट निःशुल्क माक्स बितरण गर्ने कार्यक्रम पनि लागु गरेको छ ।