तेह्रथुम: तेह्रथुमको आठराई–४, ईवा तीन सल्लेमा बिहीबार विन्दा पुरीको हत्या आफ्नै दुईजना देवरबाट भएको खुलासा भएको छ । २८ वर्षिया भाउजुको हत्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए । झापाबाट बुधबार राती गाडी रिजर्भ गरी भाउजु विन्दाको घरमा आएर हत्या गरी विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । विन्दाको विभत्स हत्याले ईवा तीनसल्ले गाउँनै स्तब्ध भएको छ । बालकृष्ण पुरी तेह्रथुमको फेदाप स्थित औसींडाडा बजारमा र सुरेन्द्र पुरी झापाको बुधबारेमा बस्दै आएका थिए । घटना पछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । हत्या गरेर मारिएकी बिन्दाको घरमा जेठा छोरा १० वर्षका र कान्छा छोरा १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स हत्या भएको थियो । हतया भए लगतै प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङ सहित घटना स्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डिएसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दार सहितको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।