इटहरीः घरबाट वैदेशिक रोजगारका लागि मलेसिया हिडेका इटहरीका एक युवा ३६ दिनदेखि वेपत्ता छन् । इटहरी १९ निवासी ३३ बर्षीय युवराज घिमिरे माघ २९ गतेदेखि काठमाण्डौंबाट वेपत्ता भएका हुन् ।
२५ माघमा मोरङ पथरीका शक्ति कुमार राईसँग काठमाडौँ हिँडेका घिमिरे फागुन १ गते मलेसिया उड्न लागेका थिए । राई र घिमिरे एउटै विमानबाट मलेसिया उड्ने तयारी गर्दै गर्दा घिमिरे भने बेपत्ता भएको परिवारजनले बताएका छन् । सँगै हिँडेका राई भने सोही मितिमै मलेसिया उडेका छन् ।

२६ माघमा काठमाडौँस्थित युनाइटेड एचआर म्यानपावर कार्यालय पुगेका दुवै जना २६ देखि २८ गतेसम्म राईकै दिदीको घरमा बसेको बताइएको छ । तर २८ गते रातीदेखि घिमिरे बेपत्ता भएको भनेर महानगरीय प्रहरी परिसर काठमाडौँमा खोजतलासको लागि दाइ मख्खन घिमिरेले निवेदन दिएका थिए । तर प्रहरीले घिमिरेको खोजतलासको लागि चासो नदिएको बेपत्ताका दिदी कमला निरौलाले बताइन् । महिना दिन बिते पनि भाइ फेला नपरेका कारण घरमा चिन्ता बढेको उनी बताउँछिन् ।पाँच दाजुभाइका काईला छोरा घिमिरे बेपत्ता भएपछि घरमा वृद्ध आमाबुबा चिन्ताले थलिएका छन् । छोराको खोजीका लागि सबैले साथ दिन बुवा माधव प्रसाद घिमिरेले आग्रह गरेका छन् ।

bepataa

दिदी कमला निरौलाका अनुसार पथरीबाटसगै काठमाडौँ हिँडेका शक्ति राईलेनै भाइलाई बेपत्ता बनाएको र विदेश भागेको दाबी गर्छिन् । दुई दिन अघि मात्र राईको श्रीमतीको घर पथरीबाट भाइको झोला बरामद गरेको दाबी गदै राई दम्पतीमाथि शङ्का बढेर गएको र उनीहरूमाथि अनुसन्धान गरिनु पर्ने उनी बताउँछिन् ।हाल मलेसियामा रहेको शक्ति राईलाई समेत सम्पर्क गरेर भाइको विषयमा बुझ्दा ‘थाहा छैन’ भनेर मोबाइल अफ गर्ने गरेको बताइएको छ । यस्तै राईकी श्रीमती सुकमायासँग झोला र भाइको विषयमा बुझ्न खोज्दा फोन काट्ने र भेट्न नचाहेको परिवारजन बताउछन् ।
यता बेपत्ताका दाइ मख्खन घिमिरेले शक्ति र उनकी श्रीमती विरुद्ध किटानी जाहेरी दिने बताएका छन् । उनीहरूको साथबाट भाइको झोला बरामद भएको आधारमा दुबैजनालाई अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले मोरङको पथरीमा गएर अर्को निवेदन हाल्न भनेको दाइ मख्खनको भनाई छ ।