इटहरीः नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अन्तर्गत पर्ने फिल्ड अस्पतालमा कार्यरत सुबेदार र दुईजना महिलाका कारण एकजना महिला हिरासतमा बस्नुपरेको छ ।
इटहरी ४ स्थित पृतनासँगै जोडिएको सयपत्री चौकमा कोल्ड स्टोर चलाउने मोरङ उर्लाबारीका रिता कार्की चेक बाउन्सको मुद्धामा ९ दिनसम्म हिरासतमा बस्नुपरेको हो । सेनाका सुबेदार बम बहादुर बस्नेत, छिमेकी निर्मला भारती र बिमला कार्कीको कारण बिना गल्ती इलाका प्रहरी कार्यालय इटहरीमा हिरासतमा बस्नु परेको कार्कीले बताएकी छन् ।
सयपत्री टोलमा रिता कोल्ड स्टोर चलाउने कार्की सुबेदार बस्नेतको निवेदनबाट फागुन २२ गते ५० हजारको चेक वाउन्स गरेको आरोपमा पक्राउ परेकी थिईन् । कार्कीले बस्नेतको नाममा ग्लोबल आईएमई बैंकको ५० हजारको चेक दिएको तर पैसा नसाटिएपछि कार्की बिरुद्ध चेक बाउन्सको मुद्धाको आधारमा उनलाई पक्राउ गरिएको इटहरी प्रहरीले बताएको छ । कार्कीले भने बस्नेतको नाममा कुनै चेक नकाटेको दाबी गर्दै आएकी छिन् ।
घटनाक्रम अनुसार कार्कीले चलाउने कोल्ड स्टोरबाट निर्मला र बिमला कार्कीले बियर, भोड्का र नगद लगे वापतको ६१ हजार रकम बाँकी छ । धेरै पटक ताकेता गर्दा पनि पैसा नउठेपछि पसल बन्द गर्ने सोचमा पुगेकी कार्कीको पसलबाट एकाएक ग्लोबल आईएमई बैकको चेक गायब भयो । खातामा पैसा नभएका कारण चेक बुक हराउँदा वास्ता नगरेकी कार्कीलाई फागुन १९ गते बैंकबाट खबर आयो, ‘तपाईको ‘चेक बाउन्स गरिएको छ, के गर्नु भएको’ ?
बस्नेतले नै उनलाई चेक बाउन्सको मुद्धा हालेर ९ दिनसम्म प्रहरी हिरासमा बस्नु परेको थियो । कार्की आइतबार मात्र १० हजार धरौटीमा जिल्ला अदालत मोरङबाट रिहा भएकी छिन् । कार्कीको पसलबाट हराएको चेक निर्मला र बिमलाले चोरेर कृते हस्ताक्षर गरि बम बस्नेतलाई दिएको दाबी छ ।
यता बस्नेतले भने कार्कीको नाममा लक्ष्मी बैंकको नामको खाताबाट अर्काे ५० हजारको चेक काटेका थिए । तर त्यो चेकको रकम कार्कीले नभई अरु कसैले उनको नामको हस्ताक्षर गरि नगद निकालिएको छ । बस्नेतसँग कुनै चिनजान र बोलचाल समेत नभएको कार्की बताउँछिन् । ‘सुबेदार बस्नेतले मेरो नाममा चेक कसरी काट्नु भयो मलाई जानकारी छैन । म उहाँलाई चिन्दापनि चिन्दिन र बोलेको समेत छैन’ उनले भनिन ‘मेरो पसलबाट हराएको चेक र उहाँले काटेको चेकको मिति एकै दिनको छ ।’
यता सेनाका सुबेदार बस्नेतले कार्की आफै ब्यारेकमा आएर ५० हजार मागेको र चेक दिएको दाबी गर्छन् । ‘कार्की बैनीले मेरो फोनमा कल गरेर भेट्नु छ, घरमा समस्या परो ५० हजार नगद सहयोग गर्नु भनेर मैले ब्यारेकमा बोलाएर चेक दिएको हुँ’ उनले भने ‘र उहाँको चेकमा पैसा नभएपछि मैले बाउन्सको मुद्धा हालेको हुँ ।
घटनाको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीमा छलफल गर्न बोलाउदा बस्नेत र दिदिबहिनी नआएको कार्की बताउछिन् । बस्नेतको बिषयमा कार्की परिवारले पूर्वी पृतनाका कानून बिभागका प्रमुख सेनानी रक्षा केसीलाई भेटेर घटनाको छानबिन गर्न आग्रह गरेका छन् । साथै नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयमा समेत निवेदन दिएका छन् ।