पथरीः २०७४ साल साउन २३ गतेदेखि आफ्नै बाबुबाट बलात्कृत पथरी शनिश्चरे नपा वडा नं. ६, कीर्तिपुर निवासी १७ वर्षीय किशोरी परिवर्तित नाम रमा पञ्चायत मावि, शिक्षा संकायअन्तर्गत कक्षा ११ मा नियमित अध्ययनरत विद्यार्थी हुन् । माघ १५ गते उनलाई गैरसरकारी संस्था ओरेक, नेपालले स्कुल परिशरबाट ललाइफकाई लगेको निजकी आमाले एकोहोरो दुखेसो पोखिन् ।
ज्यालादारी पौरखमा बाँचेको सामान्य घरपरिवार, अत्यन्तै सामान्य दिनचर्या आधारित निम्न वर्गीय परिवारमा यतिबेला निकै ठूलो बज्रपात परेको छ । ओरेक नेपालसँग आबद्धता बताउने उनका छिमेकी कल्पना मिश्र र सरिता मगरले उनलाई ललाइफकाई आफ्नो फन्दामा लिएर आफ्ना बाबुविरूद्ध अदालतमा उजुरी हाल्न पुगिन् ।
बाबुद्वारा करणी भएको उजुरी परेपछि अदालतको आदेशानुसार स्वास्थ्यसम्बन्धी आवश्यक जाँचपड्ताल हुनेक्रममा छोरीको स्वस्थ्य अवस्था राम्रो देखिएको छ । तथापि, ओरेक नेपालको निगाह र नियन्त्रणमा रहन थालेपछि बाबुद्वारा आफू पटकपटक बलात्कृत भएको आरोप छोरीको रहने गरेको छ । आफ्नै सन्तानमाथि करणीको आरोप खेपिरहेका निजका बाबु माघ १५ गतेदेखि पुर्पक्षका लागि बिराटनगर थुनामा रहेका छन् । यहिँ चैत्र २८ गते जिल्ला अदालतबाट न्यायिक फैसाला हुने कुरामा आफू ढुक्क रहेको आमाले बताइन् ।
गहभरि अश्रुधारा टप्काउँदै ‘आफ्नो कुरा सुनिदिने कोही थिएन । म स्वयं एक्लो अवस्थामा थिएँ । माइती मामली कसैलाई गुहार्न सकिनँ त्यो बेला । गुहार्न सकिने अवस्था पनि थिएन । बिना कुनै पूर्व सूचना मेरो घरायसी सम्बन्धमा ट्रकका ट्रक मानिसको हुलसहित ओरेक पसेको, यसले सिंगो घरपरिवार, पारिवारिक सम्बन्ध र जिम्मेवारीबोधको पक्ष नै तहसनहस बनाएको आरोप लगाइन् ।’ यो विषयवस्तुलाई चिरफाड गर्न अहिले उनी सर्वत्र हारगुहार लगाउँदै आएकी छिन् ।
घरायसी अवस्था अत्यन्तै कमजोर भएका कारण छोराछोरीको समय सुहाउँदो लालनपालन, आवश्यक शिक्षादिक्षा र स्वस्थ्य उपचारमा समस्या आइरहेकोले बिरक्ति पोख्दै आएकी आमा सन्तानले व्यहोर्नुपरेको यो विक्षिप्त पीडाबाट यतिखेर निकै आक्रान्त बनेकी छिन् । नगरपालिकाको न्यायिक समिति, इलाका प्रहरी कार्यालय पथरी हुँदै अदालतसम्म पुगेकी उनले न्यायका लागि चारैतिर भौतारिए पनि अहिलेसम्म कहिँ कतैबाट अपेक्षाकृत न्याय पाउन नसकेको उनको भनाइ छ ।
स्वस्थ्य जाँचका क्रममा आएको कुनै पनि खालको शंकाआशंका रहित राम्रो नतिजाका बावजुद श्रीमानबाट छोरी बलात्कृत भएको आरोप खेप्नुको पीडा एकातिर छ भने अर्कोतिर बाबु–छोरीबीच ओरेकले अंशका लागि मुद्धा चलाउने र बाबुलाई झ्यालखान जाक्ने षडयन्त्र आफूलाई कत्ति पनि चित्त नबुझेको उनको एकोहोरो आरोप छ ।
टेलिफोन संवादमा आएअनुसार यता छोरी परिवर्तित नाम रमा भने आफूमाथि बाबुको व्यवहार गलत नै भएको दाबी गर्छिन् । चाहे बाबु नै किन नहोस् ! गलत व्यवहार गर्ने जसकसैले पनि त्यहिँअनुसार कारबाहीको भागिदारी हुनुपर्ने माग दाबी उनको छ । परिवार र पारिवारिक सम्बन्धका बीचमा वादी प्रतिवादी देखिएको यो अवस्थाको अन्तिम फैसाला अदालतले गर्ने छ ।