इटहरीः कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न प्रदेश १ सरकारले गत फागुन २९ गते क्वारेन्टाइन निर्माणको निर्णय गर्‍यो ।

निर्णय गरेको ठिक एक हप्तापछि आज प्रदेश १ मा ४४० बेड क्षमताको क्यारेन्टाइन निर्माण सम्पन्न भएको छ ।

उत्तरी मोरङको टाँडिमा २०० बेड, झापाको भद्रपुरमा ४० बेड र उदयपुरको कटारीस्थित बेलसोतमा २०० बेड क्षमताको क्वारेन्टाइन नेपाली सेनाको पूर्वी पृतना हेडाक्वार्टर इटहरीले बनाएको छ ।

क्वारेन्टाइनमा स्वास्थ्य जाँच, अत्याधुनिक शौचालय, स्नान गृह देखी आवश्यक अन्य सबै सुविधाहरू हुने नेपाली सेनाले जानकारी दिएको छ ।

प्रदेश १ सरकारका प्रवक्तातथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले रोकथाम र सचेतनाका तयारीहरू गरेको बताए ।

पूर्वी पृतनापति मेजर जनरल अनन्त कार्कीले रोग आउन नदिन सबै प्रयास गरौँ र यो बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न आग्रह गरे । उनले कोरोनासँग जुध्न आवश्यक तयारीको लागी नेपाली सेना तयार भएको समेत जानकारी दिए ।