इटहरीः प्रदेश १ सरकारले कोरोना रोकथामको लागी सजग हुन विराटनगरमा ५० सैयाको अस्पताल एक हप्तामा निर्माण गर्ने निर्णय गरेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा साबिक नेसनल ट्रेडिङको भवनमा एक हप्तामा निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

आज दिउँसो मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सबै सीमा नाका बन्द गर्न सङ्घीय सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

भारत र चिनसँग जोडिएको प्रदेश १ का चीनतर्फका किमाथांका र ओलाङचुङगोला नाका भने गत माघ ५ गते नै चिन आफैले बन्द गरेको थियो ।

यी हुन प्रदेश सरकारका १२ निर्णयः

१. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६ चैत ५ को  निर्णय कार्यान्वयन गर्ने ।

२.प्रदेश  अन्तर्गतका प्रमुख नाकाहरू नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्ने साथै साना नाकाहरूमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरू बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. प्रदेशस्थित सबै सरकारी तथा गैरसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरूमा निर्देशन दिने । उपरोक्त व्यवस्था डिपार्टमेन्टल स्टोर्स तथा निजी अस्पतालहरूमा समेत गर्न निर्देशन दिने ।

४. बढी मानिसहरूको जमघट हुने मेला, हाटबजार तथा वनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने ।

५. प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरू तथा यातायात सेवा कार्यालयहरूबाट सम्पादन हुने सेवाहरू (दर्ता, नवीकरण, सवारीचालक अनुमतीपत्र)  चैत्र मसान्तसम्मका लागि बन्द गर्ने । सो अवधिभर गराउनुपर्ने त्यस प्रकृतिका कार्यहरूमा लाग्ने थप जरिवाना साबिक बमोजिमनै लिने।

६. बढी जनसम्पर्क हुने कार्यालयहरूमा भिडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने ।

७. भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुविधामा आउने भारतीय सवारी साधनहरू नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने ।

८. प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य सुरु गर्ने ।

९. न्यूनतम दश बेडको भेन्टिलेटर सहित छन् शैयाको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र स्थापना गर्ने । यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने । आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने।

१०. कोभिड– १९  परीक्षणको लागि कोसी अस्पताल र वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नति गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने ।

११. अस्पतालको सुरक्षा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरक्षा निकायले गर्ने ।

१२. समग्र अनुगमन दैनिक गर्न मुख्यमन्त्री संयोजक रहनेगरि २५ सदस्यीय अनुगमन समिति गठन गर्ने