इटहरीः क्षेत्रीय कारागार झुम्काका कैदीबन्दीहरुले कोरोना भाइरसको संक्रमण रोक्न कारागार भित्रै क्वारेन्टाइन राख्न माग गरेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम कम गर्न कैदीबन्दीहरुका लागि अनुकुल क्वारेन्टाइन बनाउन माग गरेका हुन् ।
झुम्का कारागारमा दुईवटा ब्लकमा गरि हाल १ हजार ७ सय ४० कैदीबन्दी छन् । कारागार भित्र हालसम्म कसैलाई पनि कोरोना रोग सम्बन्धि कुनैपनि लक्षण देखा नपरेको बताइएको छ । तर मौसमी रुघा, खोकी र सामान्य ज्वरो भने देखिएको छ । एक हप्ताको बिचमा ४ जनालाई ज्वरो देखिएपनि उनिहरुको स्वास्थ्य सुधार भइसकेको ब्लक ए का चौकीदार प्रेम राइले जानकारी दिए । उनले भने, ‘हामीले कारागार भित्रै साबधानी अपनाएका छौ, मास्क प्रयोगदेखि साबुन र सेनिटाइजर अनिवार्य प्रयोग गर्न भनेका छौ’ उनले भने ‘सबैलाई आ–आफ्नो कोठामा बस्न भनिएको छ’ । तर कसैलाई त्यस्तो लक्षण देखिए क्वारेन्टाइनको व्यवस्था तत्काल गरिनुपर्छ ।
भेटघाटमा प्रतिबन्ध
कोरोनाको संक्रमण बाहिरबाटै हुने भएकाले कारागार प्रशासनले चैत्र ४ गतेदेखि कैदीबन्दी भेटघाटलाई प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दी बीच भएको छलफल पछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजन बीच भेटघाट बन्द गर्ने निर्णय झुम्का कारागारका जेलर अनिल खनालले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भेटघाट भने हुनेछ । कारागारबाटै परिवारसँग कुरा गर्न टेलिफोनमा व्यवस्था मिलाइएको उनको भनाई छ ।
क्यारेन्टाइन राख्ने तयारी
कारागार प्रशासनले प्रदेश १ र २ को सहयोगमा कारागार भित्रको खाली ठाँउमा क्वारेन्टाइन राख्ने तयारी गरेको छ । जेलर खनालका अनुसार प्रदेश २ सरकारबाट ९ वटा र प्रदेश १ बाट १० वटा टेन्ट माग गरिएको उनले बताए । उनले भने, ‘प्रदेश २ सरकारले उपलब्ध गराउने टेन्ट पाउन साथ क्वारेन्टाइन बनाउने तयारीमा छौ, ‘स्वास्थ्यकर्मीको लागि भने जिल्ला अस्पतालसँग समन्वय गरिरहेका छौ ।’ साथै केन्द्र सरकारबाट पनि थप सामाग्रीहरु पठाउने तयारी भएको उनले बताए ।